अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले एन्फा महासचिव किरण राईविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।
एक टेलिभिजन अन्तरवार्ताका क्रममा राईले बोलेको कुरा बेइजतीको कसुर भएको भन्दै मुद्दा दर्ता गरेको थापाले बताए।
अन्तरवार्ताका क्रममा राईले पूर्वअध्यक्ष थापाले एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको तथा पछि सम्पत्ति शुद्धिकरणको छानविनपछि ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको बताएका थिए।
यहि विषयमा यसअघि थापाले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका थिए।
'महासचिव किरण राईले अन्तरवार्तामा भन्नुभएअनुसार मैले आठ करोड रूपैयाँ एन्फाको खातामा जम्मा गरेको विषय छानविन गरेर आफू दोषी भएर कानुनअनुसार कारबाही भोग्न तयार रहेको प्रतिबद्धता दोहोर्याउन चाहान्छु। यदि उहाँले लगाएका आरोप प्रमाणीत नभए कानुनअनुसार उहाँ कारबाहीको दायरामा आउनुपर्छ भन्ने मेरो माग छ,' थापाको भनााइ छ।
थापा अहिले भने अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफाको प्रतिबन्धमा छन्। २०७२ सालमा फिफाले थापालाई १० वर्षसम्म फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिबन्ध गरेको थियो।
भ्रष्टाचार गरेको तथा घुस लिएकोसहित विभिन्न धाराहरू उल्लंघन गरेको फिफाको अनुशासन समितिको ठहर गरेपछि थापालाई फिफाले प्रतिबन्ध गरेको थियो।