तीन वर्षपछि सहिद स्मारक बी डिभिजन लिग सुरू भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०७८ पछि पहिलो पटक गरेको लिगको पहिलो खेलमा आइतबार च्यासल युथ क्लब र वीगरञ्ज युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन्।
दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो।
लिग सिंगल राउन्ड रोविनका आधारमा हुनेछ भने कुल ९१ वटा खेलहरु संचालन हुनेछन्।
प्रतियोगिताको खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाइनेछ।
प्रतियोगितामा देशभरका १४ क्लबहरु सहभागी छन्। जसमा रानीपोखरी कर्नर टिम (आरसिटी), श्री भगवती, टुसाल यथ, ब्रिगेड व्वाइज, ब्वाइज युनियन, मध्यपुर युथ, च्यासल युथ, श्री कुमारी, बाँसबारी, नयाँ बस्ती युथ, सरस्वती युथ, वीरगञ्ज युनाइटेड, झापा फुटबल क्लब र प्लानिङ्ग व्याइज युनाइटेडको सहभागिता रहनेछ।
एन्फाले यस प्रतियोगिताको लागि सम्पूर्ण तयारीहरु पूरा गरेको शुक्रबार जानकारी दिएको छ। प्रतियोगिताको मार्केटिङ, टिकेटिङ र ब्रोडकास्टिङ अधिकार एमडिएसी स्पोर्ट्सलाई प्रदान गरिएको छ।
प्रतिगोगिताको टिकट दर दशरथ रंगशालामा सामान्य पारापिटतर्फ १०० र भीआइपी पारापिटतर्फ ३०० रुपैयाँ तय गरिएको छ। त्यस्तै एन्फा कम्प्लेक्स सातदोबाटीमा सामान्य पारापिटतर्फ रु १०० कायम गरिएको छ।
प्रतियोगिताको विजेता, उपविजेता तथा अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई पनि प्रस्कृत गरिनेछ।
प्रथम पुरस्कारः १५ लाख
द्वितीय पुरस्कारः १० लाख
तृतीय पुरस्कार: ५ लाख
फेयर प्ले: १ लाख
उत्कृष्ट खेलाडीः १ लाख
उत्कृष्ट गोलकिपरः ५०,०००
सर्वाधिक गोलकर्ता:५०,०००
प्लेयर अफ दि म्याच: .रु ७,५००
प्रतियोगिताको एक खेलमा विजयी टोलीली थप रु २५ हजार र खेल बराबरी भएको खण्डमा दुवै टिमलाई रु १० हजार प्रदान गरिनेछ। प्रतियोगिताको कुल बजेट ३ करोड ९३ लाख रुपैयाँ रहेको छ।