‘साफ महिला च्याम्पियनसिप २०२४’ अन्तर्गत आज साँझ साढे ६ बजेदेखि नेपाल र भारतबीच दोस्रो सेमिफाइनल खेल सुरू भएको छ।
यो खेलका लागि अहिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्शकको ओइरो लागेको छ। खेल सुरू हुन आधा घन्टा बाँकी रहँदै रंगशाला लगभग भरिएको छ।
१४ हजार दर्शक क्षमताको रंगशालाका सबै टिकट बिक्री भइसकेको जनाइएको छ।
नेपाल र भारतबीच साफको सेमिफाइनलमा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् २०२२ मा दशरथ रंगशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई पराजित गरेको थियो। यद्यपि नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो।
आजको खेलमा विजयी हुने टोलीले उपाधिका लागि बुधबार बंगलादेशसँग खेल्नेछ। आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ ले हराएर दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको थियो।
भारतविरूद्धको खेलका लागि नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। सरू लिम्बूको स्थानमा पूजा रानालाई स्थान दिइएको छ।
नेपाली टोली
एन्जिला सुब्बा तुम्बापो (गोलकिपर, कप्तान), पूजा राना, विमला बिक, अमृता जैशी, रेनुका नगरकोटी, साबित्रा भण्डारी साम्बा, गीता राना, रेखा पौडेल, प्रिति राई, सविता रानामगर र अमिषा कार्की।
तस्बिरहरू: