के पेप ग्वार्डिओला अहिलेसम्मकै उत्कृष्ट फुटबल प्रशिक्षक हुन्?
‘अवश्य हुन्‘ कतिपय फुटबल समर्थकहरू भन्ने गर्छन्।
यो प्रश्न गरिरहदा के प्रष्ट हुन्छ भने उनी उत्कृष्ट मध्येका एक हुन्।
किन त?
महान् व्यक्ति एक पथप्रदर्शक हुन्छ। जसले लाखौँ करोडौं मानिसलाई आफूले देखाएको बाटोमा हिडाउँन सक्छ।
सन् २०१० पछि संसारभरको फुटबल शैली करिवकरिव उनले देखाएको बाटोमा देखिन्छ।
आजकाल एक राम्रो डिफेन्डर हुन डिफेन्स मात्र गरेर पुग्दैन। उसले बललाई कसरी पास गर्न सक्छ। बललाई डिफेन्सबाट कसरी आक्रमणमा ल्याउन सक्छ भन्ने महत्वपूर्ण हुन्छ।आज यो शैली संसारको हरेक कुनामा हेरिने गरिन्छ।
त्यस्तै राम्रो स्ट्राइकरले टिमको लागि दौडन पर्छ। पास दिन जान्नु पर्छ। आफ्ना साथिहरूको लागि अवसर सिर्जना गर्नुपर्छ।
जोरार्ड पिकेले भनेका छन् - म्यानचेस्टर युनाइटेडमा डिफेन्स गर्दै गरेको बल लाइन बाहिर फलिदिने हो भने दर्शकहरूले ताली बजाउछन्, तर बार्सिलोनामा त्यो बललाई नियन्त्रणमा लिएर आफ्नो साथीलाई दिनुपर्छ। यसमा धेरै जोखिम छ, तर टिकी-टाकाको खेल्ने शैली यस्तै नै हो।
हुन त पेप नेदरल्यान्ड्स र बार्सिलोनाका लिजेण्ड योहन क्रोयफका शिष्य हुन्। उनी क्रोयफले देखाएको बाटोमा हिड्ने गर्छन्। तर त्यो बाटोलाई अर्को स्तरमा पुर्याएर पेपले संसारलाई देखाइदिएका छन्।
क्रोएफ पनि नेदरल्यान्ड्सका महान् प्रशिक्षक रानस मिचेल्सले फुटबल शैली सिकाएका हुन्। अर्को भनाइ के छ भने यो शैलीको फुटबल १९४० को दशकमा हंगेरीको फुटबल टिमले खेल्ने गर्थ्यो।
यिनीहरूसबैका शिष्य भएपनि सबै भन्दा प्रभावकारी र शशक्त शैलीमा टिकीटाका फुटबल पेपले विकसित गरिदिएका छन्। यो शैली अर्को माथिल्लो स्तरमा परिमार्जन भएको छ। तर पेप टिकीटाका भन्दा त्यति खुसी हुँदैनन्।
टिकीटाका फुटबल के हो त?
यो बुझ्न बार्सिलोनाको फुटबल एकेडेमी ला मेशिया जान पर्छ। यहाँ फटबल सिक्न आउने ९-१० वर्षका बच्चाहरू पहिले फुटबल आफ्नो खुट्टामा सहज (कम्फर्टेबल) हुन सिक्छन्। उपयुक्त स्थानमा पास दियर लामो समयसम्म बल आफ्नो टोलीको नियन्त्रणमा राख्न सिकाइन्छ। त्यहाँ टोटल फुटबलको शैलीमा सबै कुरा सिक्नपर्छ। पहिले डिफेन्स गर्न, त्यसपछि साथीलाई सहयोग गर्न, आक्रमण गर्न अनि गोल गर्न। समग्रमा यो काम मिडफिल्डरहरूको हो।
पेपले एक अन्तर्वार्तामा भनेका छन् –‘म मेरो टिममा १००० वटा मिडफिल्डर चाहन्छु।‘
आजकालको फुटबल मिडफिल्डरको खेल भइसकेको छ। आजकाल धेरै उत्कृष्ट स्ट्राइकरहरू छैनन्। साँच्चै भन्ने हो भने आजकाल औंलामा गन्न सकिने उत्कृष्ट स्ट्राइकरहरू मात्र छन्।
पहिले एकै टिममा तीन-चार जना राम्रा स्ट्राइकर हुन्थे। २०१२ को म्यानचेस्टर सिटीको टोलीमा कार्लोस टेभेज, अग्युरो, जेको र मारियो बालोटेली गरेर चार जना स्ट्राइकर थिए। तर आजकाल प्राय: स्ट्राइकरको भूमीका मिडफिल्डले हेर्ने भइसकेको छ।
सिटीको गत सिजनको टोलीमा प्रचलित स्ट्राइकर कुनै थिएनन्।
उस्तै तरिकाले आजकाल डिफेन्डर पनि मिडफिल्डर भएका छन्। पेपले फुटबल प्रशिक्षण गरेका सुरूवाती दिनहरूमा बललाई उत्कृष्ट ढंगले खेलाउन सक्ने, पास दिन सक्ने डिफेन्डर थिएनन्। त्यसकारणले पेपले बार्सिलोनामा मास्चिरानोलाई मिडफिल्डबाट झारेर सेन्टर ब्याक बनाएका थिए। त्यहिबेलाको खेलमा जाभी, इनिस्टा र याया टाउरे आफ्नो टोलीले आक्रमण गर्दा बल लिन सेन्टर ब्यकहरू भन्दा तल आउथे।
यसले बललाई फैलाएर आक्रमण गर्न सजिलो हुन्थ्यो। यो तरिका आजकाल पनि प्रयोग हुनेगर्छ।
सधैं मिडफिल्डर तल झारेर डिफेन्डर बनाउनुभन्दा डिफेन्डरलाई नै मिडफिल्डर बनाउनु बढि प्रभावकारी भएकाले आजकाल डिफेन्डरले मिडफिल्डको काम पनि सिक्नुपर्ने भएको छ।
आजकाल पहिलाको जस्तो डिफेन्डरको काम डिफेन्डमात्र गर्ने छैन, उनीहरूको काम बललाई शकुसल ढंगले पास गर्नु हो। यतिले मात्र नभएर आजकाल त गोलकिपर पनि पास खेल्न जान्ने खोजिन थालिएको छ। म्यानुयल नेउर र इडर्सन केही उत्कृष्ट उधाहरण हुन्।
पेप आफ्ना खेलाडीलाई त्रिकोण बनाएर आक्रमण गर्न सिकाउँछन्। ट्रयाङ्गगल बनाउदा आफ्नो साथी भेटाउन सजिलो हन्छ। साथसाथै उनी खेलाडीलाई आफ्नो स्थानमा बाँधेर राख्ने गर्छन्।
उनी खेल मैदानलाई अनेक भागमा विभाजन गर्छन्। खेलाडीको काम र स्थान निश्चित छ। उनी एक खेलाडीलाई राखिएको स्थानबाट भड्किएर अन्य स्थानमा गए खेलाडीलाई दण्ड दिन अर्को खेल नखेलाउनुका साथै तत्कालको खेलमा खेलाडी परिवर्तन पनि गरिदिने गर्छन्।
उनको प्रशिक्षणको सुरूवाती दिनमा हेनरीलाई गोल हानेको अवस्थामा पनि मध्यान्तरमा परिवर्तन गरेको उदाहरण हामीमाझ छ। फाइनल थर्डमा भने उनले खेलाडीलाई नै आफ्नो दिमाग प्रयोग गर्न खुला छोडिदिन्छन्।
अर्को उनको निर्दैशन भनेको खेलाडीले बल प्रतिद्वन्द्वीको खुट्टामा पुग्ने बित्तिकै कसर आफ्नो अधिनमा लेराउने भन्ने हो।
‘हाइप्रेसिङ’ उनले सिकाउने अर्को तरिका हो। बल विपक्षीको खुट्टामा गएको केही सेकेन्डमा नै आफ्नो अधिनमा लेराउन उनी सिकाउछन्। जस्तोसुकै नाम चलेको खेलाडी होस् उसले आफ्नो टिमको लागि दौडन पर्छ। स्ट्राइकरले माथिबाट नै डिफेन्स गर्न पर्छ।
आजकाल पेपको शैलीमा फुटबल खेलाउने प्रशिक्षककै बाहुल्य देखिन्छ। प्रिमियर लिगमा भएका मिकेल आर्टेटा, प्याट्रिक भियरा, स्टेफन जेरार्ड, ग्राम पोर्टर, लाम्पार्ड केही उधाहरण हुन्। पेप ब्राण्डको फुटबल र जर्मन ब्राण्डको फुटबल बाहेक अरू शैलीको फुटबल आजकाल माथिल्लो स्तरमा देख्न पाइन्न। यी दुई ब्राण्ड बाहेकका फुटबल खेलाउने प्रशिक्षक आजकाल बिलायर गएका छन्। जोसे मोउरिन्हो जस्ता उत्कृष्ट प्रशिक्षकलाई पनि आजकाल आफ्नो शाख जोगाउन गाह्रो भइरहेको छ।
हुन त आजकालका खेलाडीलाई हरेक शैलीको खेल खेल्न सिक्न पर्ने हुन्छ तर टिकीटाका शैली खेल्न जाने अरू किसिमका शैली सिक्न खासै गाह्रो देखिन्न।
आजको पेप बार्सिलोनाको पेपभन्दा फरक छन्। बार्सिलोनामा हुँदा उनी नितान्त टिकीटाका खेलाउथे। जर्मनीको बायर्न म्यूनिखमा गइसके पछि उनले आफ्नो खेलमा प्रेसिङ गेम मिसाएका थिए। साथै जर्मनीमा उनले इन्भर्टेड फुल ब्याक अर्थात फुल ब्याकहरू मिडफिल्डमा ल्याएर मिडफिल्डमा संख्या बढाउने काम सिके। यसकारण फिलिप लाहमजस्ता दिग्गज खेलाडी मिडफिल्डमा बढी प्रभावकारी भएका थिए। बल आफ्नो नियन्त्रणमा रहिरहन सहयोग भएको थियो र छ। अनि काउन्टर आक्रमण रोक्न पनि सजिलो हुन्छ।
इंग्ल्यान्ड आइसके पछि आफ्नो टिकीटाकामा पेपले पेस (तीव्र गति) पनि मिसाएका छन्। आजकाल उनका खेलाडी फिल फोडेन, डि ब्रुएन, बर्नाडो सिल्भा छन्।
उनको परिवर्तित खेलमा आजकाल स्ट्राइकर छैनन्। भएका पनि मिडफिल्डर बनेका छन्। उनले ‘फल्स नाइन’ प्रयोग गर्ने गरेका छन् जहाँ स्ट्राइकर हुन्न। मिडफिल्डको कुनै एक खेलाडी स्ट्राइकर बनेर आक्रमण गर्ने गर्छ।
पेप शैलीको फुटबल प्रिमियर लिग, ला लिगामा मात्र नभएर इंग्ल्यान्डको तल्लो डिभिजनका लिगमा पनि देखिन थालेको छ।
इंग्ल्याण्डको खेल भने पहिले पहिले फरक थियो। एक अग्लो बलियो केटो डिफेन्डर बन्थ्यो। त्यस्तै ज्याङ्गो केटो स्ट्राइकर बन्थ्यो। दौडन जान्ने केटो विइङ्गर बन्थ्यो। उसले विङबाट विपक्षी डिफेन्डरलाई झुक्कायर बल डि एरियामा फाल्थ्यो। डि एरियामा स्ट्राइकर र डिफेन्डरबीच प्रतिस्पर्धा चल्थ्यो।
गोलकिपरले बल प्राय: आफ्नो ज्याङ्गो स्ट्राइकरतर्फ हुर्याउथ्यो। डिफेन्सले डिफेन्स मात्र गर्थ्यो र बल प्राय: पछि सिधै स्ट्राइकरतर्फ पास दिन्थ्यो। ट्याकल गर्यो भने खतरा डिफेन्डर मानिन्थ्यो। यस्तो लाग्थ्यो इंग्लिस खेलाडीहरू खुट्टामा तीन-चार सेकन्डभन्दा बढी बल भयो भने आतिन थाल्छन्। दुई टिमको पेनाल्टी बक्समा खेल हुने भएकाले खेल रोमाञ्चक हुन्थ्यो तर बल नियन्त्रणमा लिने टोली विपक्षी भयो भने टिम रनभुल्लमा पर्थ्यो। यसको उत्कृष्ट उदाहरण च्याम्पियन्स लिग फाइनल हो जसमा एलेक्स फर्ग्युसनको म्यानचेस्टर युनाइटेड र पेपको बार्सिलोना भिडेका थिए। फर्ग्युसन आजसम्म भन्छन् त्यस्तो टिमसँग मैले खेलेको छैन।
तर बेलायतमा पेपको शैली भित्रिएपछि खेलको शैली परिवर्तन हुन थालेका छन्। आजकाल खुट्टामा सजिलै खेलाउन सक्ने क्षमता भएका बेलायती खेलाडी धेरै छन्। फिल फोडेन, प्रिलिस, ह्यारी केन, स्टर्लिङ, जोन स्टोन्स, वाल्कर, आदि।
फेरि उनी प्रशिक्षक भएर गएका देशले विश्वकपमा राम्रो गरेका छन्। जर्मनी र स्पेनको टिममा उनले खेलाएका आधाजसो खेलाडी थिए। उनीहरूले विश्वकपको ट्रफी उचालेका थिए।
उनका विरोधीहरूको एक प्रश्न हुने गर्छ- पेपले उत्कृष्ट प्रशिक्षक बन्ने हो एक सानो टिम लिएर उपाधि जिताउन सक्छन्?
जर्जन क्लपले गरेका छन्। मोरिन्होले गरेका छन्। रेनेरिले गरेका छन्।
पेपलाई भने सधैं उत्कृष्ट टिमको भरोसा सधै रहिरहेको छ।
तर के एक राम्रो डाक्टरी पढाउने शिक्षकले १० कक्षामा गएर १० कक्षाको विद्यार्थीलाई राम्रो डाक्टर बनाउन पर्ने हो र?
बुझ्न पर्ने कुरा के छ भने केही कलेजको केहि न केहि विशेषता भएर न सधैं राम्रा विद्यार्थीहरू पाइरहेका छन्। त्यसै गरेर ग्वार्डियोलामा केहि न केहि विशेषता पक्कै होला। उनी अहिलेसम्म कुनै क्लबबाट निकालिन परेको छैन। उनले जागिर छोडेको भोलिपल्ट एक सै एक उत्कृष्ट कामका अवसरहरूको चाङ लाग्छ।
साच्चैं भन्ने हो भने उनलाई सानो टिममा जाने आवश्वकतानै छैन। तर यो पनि होइन कि उनले लिएको टिम सधैं उत्कृष्ट छ। बार्सिलोनामा पहिलोपटक सिनियर टिमको प्रशिक्षकमा नियुक्त हुनुअघि उनी बी टिमका प्रशिक्षक थिए। उनको प्रतिस्पर्धा जोसे माउरिन्हो (जो उत्कृष्ट प्रशिक्षकमा गनिसकेका थिए) सँग थियो। बार्सिलोना बल्लबल्ल ला लिगाको उत्कृष्ट चारभित्र पर्न सकेको थियो। बार्सिलोना जस्तो क्लबले टाइटल नजितेको केहि वर्ष भइसकेको थियो। तर त्यस्तो टोलीलाई लिएर उनले जित्न सक्ने सबै उपाधि पहिलो वर्ष नै जितेर देखाएका थिए।
त्यस्तै म्यानचेस्टर सिटीमा आउदा पनि उस्तै हालत थियो। उत्कृष्ट चारमा बल्ल परेको थियो। उपाधि आक्कलझुक्कल जित्थ्यो। पहिलो वर्ष उनलाई पनि गाह्रो भएको थियो। उनको टिम बल्लबल्ल उत्कृष्ट चारमा परेको थियो। त्यसपछि मात्र उनले बुढो हुँदै गएका खेलाडीलाई परिवर्तन गरेर नयाँ अनुहार ल्याएका थिए। त्यसपछि सिटी एक सिरिएल विजेतामा परिणत भएको छ। आज उसँग पाँच वर्षमा चार वटा लिग उपाधि छन्।
तर च्याम्पियन्स लिग नजित्नु उनको लागि ठूलो काँडा बनेर बिझिरहेको छ।
फर्ग्युसन जस्ता दिग्गज म्यनानेजरले २५ वर्षभन्दा लामो समय म्यानेजर बनेको इतिहासमा जम्मा दुई पटक च्याम्पियन्स लिग जित्नु र आर्सन वेङ्गरले एक पटक पनि नजित्नुले यो उपाधि दिग्गजहरूका लागि पनि गाह्रो हुनेरहेछ भनेर सहज अनुमान लगाउन सकिन्छ। फेरि पेपले च्याम्पियन्स लिग नजितेका भने होइनन्। उनले दुई पटक जितिसकेका छन्। फेरि उनी मात्र एक म्यानेजर हुन् जसको मापन च्याम्पियन्स लिग जित्ने नजित्नेमा हुन्छ। यस कारण पनि उनी उत्कृष्ट मध्यका एक हुन्।
प्रिमियर लिग पहिले ८० देखि ९० अंक ल्याउदा जितिने गरिन्थ्यो। पेप बेलायत गएपछि ९० अंक नकटाए लिग जितिन्न। उनको प्रशिक्षणमा म्यनचेस्टर सिटी १०० प्वाइन्ट कटाउने पहिलो र अन्तिम टोली हो।
उनले आजकाल लिगलाई एक स्तरमाथि उचालिदिएका छन्। उनको च्यालेन्जलाई स्वीकार गर्दै क्लपले लिभरपुललाई एक स्तर माथि उचालेर पेपलाई चुनौती दिन आएका छन्। ९७ र ९२ अंक ल्याउदा पनि उनको टोली दोस्रो हुन गएको छ। उनलाई तीन वर्ष उत्कृष्ट फुटबल खेलाउन परेको थियो पेपबाट एक लिग उपाधि जित्न। हालसाल क्लप र पेपको राइभलरी हेर्नलायकको बनेको छ। यस्तो लाग्छ अरू म्यानेजरहरूलाई दुईको चुनौती फलाम चपाएकोभन्दा बढी हुँदै आएको छ।
अर्को अचम्मको कुरा के छ भने क्लप र एक्टिोनियो कोन्टेजस्ता दिग्गज प्रशिक्षक पेपलाई फुटबलको उत्कृष्ट प्रशिक्षक मान्छन्। यस्तो मान्यता राख्ने अरू हजारौँ फुटबल समर्थक छन्।