फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकन छनोटमा ब्राजिलले आफ्नो विजयी यात्रा जारी राखेको छ।
छनोटमा लगातार आठौं जित निकाल्ने क्रममा ब्राजिलले शुक्रबार विहान सम्पन्न खेलमा पेरूलाई २-० गोलले पराजित गर्यो।
ब्राजिलको जितमा नेइमार र रिबेइरोले एक एक गोल गरे। दुवै गोल पहिलो हाफमा भएका थिए।
खेलको १५ मिनेटमा रिबेइरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए।
पहिलो हाफको अन्तिम मिनेटमा नेइमारले ब्राजिलको अग्रता दोब्बर पारे।
दक्षिण अमेरिकन छनोटमा ब्राजिल ८ खेलबाट २४ अंक जोड्दै शीर्ष स्थानमा छ।
दोस्रो स्थानको अर्जेन्टिनाको १८ अंक छ। अर्जेन्टिनाले शुक्रबार विहान नै भएको खेलमा बोलिभियालाई ३-० गोलले हरायो।
अर्जेन्टिनाको जितमा मेसीले ह्याट्रिक गरेका थिए।
छनोटको अन्य खेलमा कोलम्बियाले चिलीलाई ३-१, उरुग्वेले इक्वेइडरलाई १-० र पाराग्वेले भेनेजुएलालाई २-१ ले पराजित गरेका छन्।
इक्वेइडरलाई पराजित गरेसँगै उरुग्वे ९ खेलबाट १५ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ।
चौथो स्थानको इक्वेइडर र पाँचौ स्थानको कोलम्बियाको समान ९ खेलबाट समान १३-१३ अंक छ।
दक्षिण अमेरिकाबाट चार टिम सिधै विश्वकपमा छनोट हुनेछन्। पाँचौ हुने टिमले अन्तरमहादेशीय प्लेअफ खेलेर विश्वकपमा स्थान बनाउने सम्भावना हुन्छ।