फिफा विश्वकप २०२२ अन्तर्गत अफ्रिका छनोटमा मंगलबार राति भएको तान्जानिया र मादगास्करबीचको खेलमा इतिहासकै छिटो पेनाल्टी दिइएको छ।
खेलको चार सेकेन्डमै रेफ्रीले तान्जानियालाई पेनाल्टी दिने निर्णय गरेका थिए।
सेन्टरबाट आएको पासका क्रममा मादगास्करका गोलकिपर मेल्भिन एड्रियनले तान्जानियाका सिभोन मसुभालाई डिबक्समा फल गरेपछि पेनाल्टी दिइएको थियो। प्राप्त अवसरमा तान्जानियाका न्योनीले गोल गरे।
बिबिसीका अनुसार तान्जानियाले पाएको पेनाल्टी इतिहासकै छिटो भए पनि अहिलेसम्म औपचारिकता दिइएको छैन।
यसअघि सन् २०१४ मा मोन्टेनेग्रोलाई खेल सुरू भएको दश सेकेन्डमै पेनाल्टी दिइएको थियो।
घानाविरुद्धको मैत्रीपूर्ण खेलमा मोन्टेनेग्रोले सो पेनाल्टी पाएको थियो।
मंगलबार इतिहासकै छिटो पेनाल्टी पाएको तान्जानियाले खेल ३-२ ले जित्यो। जितसँगै समूह ‘जे’ मा ४ अंक जोड्दै तान्जानिया शीर्ष स्थानमा उक्लिएको छ।
अफ्रिका छनोटमा दोस्रो चरणका दश समूहका शीर्ष टिम गरी कुल दश टिम तेस्रो चरणको छनोटमा पुग्नेछन्। अफ्रिकाबाट विश्वकपमा ५ टिम छनोट हुनेछन्।