नेपाली महिला राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी 'साम्बा' उपचारका लागि कतार जाने भएकी छिन्।
घुँडाको उपचारका लागि उनी भण्डारी आगामी जुन २८ मा कतार जान लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
नेपाल एपिएफ क्लबकी फरवार्ड भण्डारी गत फेब्रुअरीमा महिला राष्ट्रिय लिगका दौरान घाइते भएकी थिइन्। नेपाल पुलिसविरुद्धको खेलमा उनी घाइते हुन पुगेकी थिइन्।
खेलको ६९औँ मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएपछि उनी घाइते हुँदै मैदानबाट बाहिरिएकी थिइन्।
एमआरआई रिपोर्टमा उनको दायाँ घुँडाको लिगामेन्ट च्यातिएको देखिएको थियो। जसका कारण उनको शल्यक्रिया गर्नु पर्ने भनिएको थियो।
लिगमा उनले १० खेलमा ४३ गोल गरेकी थिइन्। महिला लिगमा हालसम्म कुनै पनि खेलाडीको यही नै उत्कृष्ट खेल प्रदर्शन हो।
यसअघिस एन्फाको पहलमा राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तिमगर र मिडफिल्डर विक्रम लामाको अहिले कतारमा उपचार भएको थियो।
नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने साम्बा
'साम्बा' को नाममा नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोल गर्ने कीर्तिमान छ।
गत वर्ष नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुदमा उनले सो कीर्तिमान बनाएकी थिइन्।
पोखरा रंशगालामा माल्दिभ्सलाई नेपालले ३-० ले हराउँदा ह्याट्रिक गरेपछि उनी नेपालका लागि सर्वाधिक गोल गर्ने फुटबलर बनिन्। ह्याट्रिकसँगै उनले अन्तर्राष्ट्रिय गोल संख्या ३८ पुर्याएकी थिइन्।
साम्बाले त्यहिँ वर्षको भदौमा किर्गिस्तानमा भएको नाडेज्दा कपमा उज्वेकिस्तानविरूद्ध २ गोल गरेर अन्तर्राष्ट्रिय गोल संख्या ३५ पुर्याएकी थिइन्। जससँग उनले अनु लामाको नाममा रहेको कीर्तिमानसँग बराबरी गरेकी थिइन्।
साम्बाको संघर्ष
महिला फुटबलमा साम्बाले सफल खेलाडीको परिचय बनाए पनि उनको फुटबल यात्रा भने सहज रहेन।
लमजुङको सिम्बाली गाउँमा जन्मिएर हुर्किएकी सावित्राले फुटबल खेल्नका लागि घरमै संघर्ष गर्नुपर्यो। स्कुलका केटासँग फुटबल खेल्दा परिवारको गाली खानुपर्यो। आमाको पिटाइ सहनुपर्यो। बाबाको ‘घरमै बसेर पढ’ भन्ने आदेश पालना गर्नुपर्यो।
परिवारसँग मनमुटावबीच उनले घरको आँगनमै खाली खुट्टा मोजाको बलमा आफ्नो फुटबल सपनालाई जीवन्तता दिइरहिन्।
साम्बाका चार दिदीबहिनी छन्, दुइ दाजुभाइ। बुवाको नोकरीले मात्र परिवार चलाउनै मुस्किल भैरहेको देखेकी उनका लागि फुटबल जर्सी किन्नु सपना थियो।
उनलाई फुटबलको भोकले छाडेन। विद्यालयको टिफिन टाइममा खाजा खाइनन्। फुटबल खेलिन् त्यो पनि केटाहरूसँग।
केटाजस्तो भएर हिँडेको देखेर छिमेकीले कुरा काटे। तर साम्बाले परवाह गरिनन्।
फुटबलमा मात्र होइन जिल्ला स्तरको दौडमा समेत उनले गोल्ड मेडल जितिन्। भलिबलमा सिल्भर मेडल। साम्बाले ल्याएको मेडलले छिमेकीको मुख टालियो।
२०७१ साल सावित्राका लागि टर्निङ प्वाइन्ट बन्यो। लमजुङकै घले गाउँमा आयोजना भएको फुटबल प्रतियोगितामा साम्बाले उत्कृष्ट प्रदर्शन गरिन्। प्रतियोगिताकै सबैभन्दा धेरै ९ गोल गरिन्।
खेल हेर्न राष्ट्रिय रेफ्री शुक्र लामा घलेगाउँ पुगेका थिए। सावित्राको खेल देखेर शुक्रले उनलाई सशस्त्र प्रहरीको फुटबल टोलीमा आबद्ध हुने मौका मिलाइदिए। लामाले सावित्रालाई फोन गरेर सशस्त्र प्रहरी क्लबमा आउन सुझाव दिए।
वैशाखसम्म घलेगाउँको खेलम खेलिरहेकी सावित्रा तीन महिनापछि सशस्त्र प्रहरीको एपिएफ क्लबमा महिला फुटबल खेलाडी बनिन्। सशस्त्रमा राष्ट्रिय टोलीका खेलाडी थिए। उनलाई क्लबमा आफूलाइ प्रमाणित गर्ने चुनौती थपियो।
तर मेहेनती साम्बाले हौसला गुमाइनन्।
एन्फाले राष्ट्रिय टोलीमा छनौटका लागि ४४ खेलाडीलाई क्लोज क्याम्पमा राख्यो। साम्बा ४४ मा समेटिइन्। ‘सीमित’ फुटबलको ज्ञानको सहारामा राष्ट्रिय टोलीमा पर्न उनले संघर्ष गर्नुपर्यो।
सन् २०१४ उनका लागि सुनौलो बिहानी बनेर आयो। त्यही वर्ष उनले पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा भुटानविरूद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरिन्। डेब्यु खेलमै गोल पनि ठोकिन्।
त्यसयता उनी राष्ट्रिय फुटबल टोलीमा निरन्तर छिन्- गोल मेसिनका रूपमा।
साम्बालाई आफूले केही पाउने अपेक्षाभन्दा राष्ट्रका लागि केही गर्ने भोकले अझै सताइरहेछ।
साम्बालाई खेलमा विपक्षीले समय कटाउन गरेकी तिकडमले चिढ्याउँछ।