युरो २०२० मा साविक विजेता पोर्चुगल पराजित भएको छ। समूह एफअन्तर्गतको खेलमा पोर्चुगललाई जर्मनीले ४-२ गोलले पराजित गरेको हो।
खेलमा अग्रता लिएको पोर्चुगलले त्यसपछि दुई आत्मघाती गोल गर्दा जर्मनीलाई फाइदा पुगेको थियो।
हारसँगै पोर्चुगल विश्वकप र युरो कपमा दुई आत्मघाती गोल गर्ने पहिलो युरोपियन टिम बन्यो।
यस्तै पोर्चुगलले युरो कप वा विश्वकपमा चार गोल खाएको यो दोस्रो पटक हो। यसअघि उसले जर्मनीविरुद्ध नै चार गोल खाएको थियो। सन् २०१४ को विश्वकपमा पोर्चुगलको पोस्टमा जर्मनीले चार गोल गरेको थियो।
यस्तै पोर्चुगल एकै खेलमा चार गोल खाने युरो कपको साविक विजेता पनि बन्यो।
शनिबार क्रिस्टियानो रोनाल्डोले खेलको १५ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए। काउन्टर आक्रमणमा जोटाले दिएको पासमा रोनाल्डोले गोल गरे।
खेलको ३५ मिनेटमा जर्मनीले बराबरी गर्न सफल भयो। जर्मनीका गोसेन्सले डिबक्समा हाभर्ट्जलाई पास दिएका थिए। उक्त पास क्लियर गर्ने क्रममा पोर्चुगलका रुबेन डियासले आफ्नै पोस्टमा गोल गर्न पुगे।
चार मिनेटपछि पोर्चुगलले दोस्रो आत्मघाती गोल गर्दा जर्मनीले अग्रता लियो। यसपटक किमिचको प्रहारलाई रोक्ने क्रममा पोर्चुगलका गुइरेरोले आफ्नो पोस्टमा बल छिराउन पुगेका थिए।
पहिलो हाफमा २-१ ले अघि रहेको जर्मनीले ५१ मिनेटमा तेस्रो गोल गर्यो। यसपटक हाभर्ट्जले गोल गर्न सफल भए।
६० मिनेटमा जर्मनीका लागि रोबिन गोसेन्सले अर्को गोल गरेपछि जर्मनी ४-१ ले अघि बढ्यो।
६७ मिनेटमा पोर्चुगलका लागि जोटाले दोस्रो गोल गर्दा खेल ४-२ को अवस्थामा आएको थियो।
जितसँगै जर्मनीले समूह एफमा तीन अंक जोडेको छ। शीर्ष स्थानको फ्रान्सको चार अंक छ। फ्रान्सले आजै भएको खेलमा हंगेरीसँग १-१ को बराबरी खेल्यो। पोर्चुगलको पनि तीन अंक छ भने हंगेरीले एक अंक बटुलेको छ।