इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सानदार जित हात पारेको छ। म्यानचेस्टरले आइतबार भएको खेलमा लिड्स युनाइटेडलाई ६-२ गोलले पराजित गर्यो।
म्यानचेस्टरका लागि म्याकटोमिनेले खेलको दोस्रो र तेस्रो मिनेटमै गोल गरेर टिमलाई सुरुवाती अग्रता दिलाएका थिए।
ब्रुनो फर्नान्डेजले म्यानचेस्टरका लागि २० मिनेटमा तेस्रो गोल गरे। लिन्डोलोफले ३७ मिनेटमा चौथो गोल गरे।
४१ मिनेटमा लिड्सका कुपरले गोल फर्काउँदा पहिलो हाफ ४-१ को स्थितिमा सकिएको थियो।
म्यानचेस्टरका लागि थप गोल जेम्सले ६६ मिनेट र फर्नान्डेजले ७० मिनेटमा पेनाल्टीमार्फत गरे।
लिगको अर्को खेलमा लेस्टर सिटीले टोटेनहमलाई २-० ले पराजित गर्यो।
लेस्टरका लागि जिमी भार्डीले पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टीमार्फत पहिलो गोल गरे।
५९ मिनेटमा टोटेनहमका टोबी एल्डरवेरल्डले आफ्नै पोस्टमा गोल गर्दा लेस्टरको अग्रता दोब्बर भएको थियो।
लिगमा लिभरपुल १४ खेलबाट ३१ अंक जोड्दै शीर्ष स्थानमा छ।
दोस्रो स्थानमा पुगेको लेस्टरको १४ खेलबाट २७ र तेस्रो स्थानमा रहेको म्याचनेस्टर युनाइटेडको १३ खेलबाट २६ अंक छ।
एभर्टन १४ खेलबाट २६ अंक जोड्दै चौथो स्थानमा छ। पाँचौ स्थानको टोटेनहमले १४ खेलबाट २४ अंक बटुलेको छ।