इंग्लिस प्रिमियर लिगमा चेल्सी पराजित भएको छ। मंगलबार राति भएको खेलमा चेल्सीलाई वुल्भ्सले २-१ गोलले पराजित गरेको हो।
खेलमा अग्रता भने चेल्सीले लिएको थियो। चेल्सीका लागि ओलिभर जिरुडले ४९ मिनेटमा गोल गरे।
६६ मिनेटमा पोडेन्सले वुल्भ्सका लागि बराबरी गोल फर्काए। इन्जुरी टाइमको पाँचौ मिनेटमा नेटोले अर्को गोल गरेपछि वुल्भ्सले चेल्सीमाथि २-१ गोलको रोमाञ्चक जित हात पार्यो।
लिगको अर्को खेलमा म्यानचेस्टर सिटीलाई वेस्ट ब्रुमले १-१ गोलको बराबरीमा रोकेको छ।
सिटीका इल्के गुन्डोआनले खेलको ३० मिनेटमा गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाए। उनलाई गोल गर्न स्टर्लिङले पास दिएका थिए।
४३ मिनेटमा सिटीका रुबेन डायसले आफ्नै पोस्टमा गोल गर्दा वेस्ट ब्रुमलाई फाइदा पुग्यो।
लिगमा चेल्सी १३ खेलबाट २२ अंक जोड्दै पाँचौ स्थानमा छ। म्यानचेस्टर सिटी १२ खेलबाट २० अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ।
दशौं स्थानमा रहेको वुल्भ्सको पनि २० अंक नै छ।