राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजदेखि सुरू भएको छ।
विश्वकप फुटबल छनोटको तयारी स्वरुप अखिल नेपाल फुटबल संघ (एन्फा)ले आजदेखि प्रशिक्षण सुरू गरेको हो।
एन्फाले ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराएको छ।
फुटबल टिमका कार्यवहाक प्रशिक्षक बालगोपाल महर्जनले चैतको १२ गते चाइनिज ताइपेईसँग, चैत १७ गते अस्ट्रेलियसँग र जेठ २४ गते जोर्डनसँग हुने प्रतिस्पर्धाको तयारी स्वरुप बन्द प्रशिक्षण सुरु गरिएको बताए।
डिफेन्डर विराज महर्जनले लामो समयपछि प्रशिक्षणमा सहभागि हुन पाउँदा खुशी लागेको बताए। उनले विश्वकप छनोटका लागि प्रयाप्त समय रहेकाले पनि राम्रो नतिजा ल्याउने गरी प्रशिक्षण अगाडि बढ्ने विश्वास व्यक्त गरे।
एसियन छनोट अन्तर्गत समूह ‘बी’मा नेपाल, अस्ट्रेलिया, कुवेत, जोर्डन, चाइनिज ताइपेई रहेका छन्। अस्ट्रेलिया १२ अंक सहित शिर्ष स्थानमा रहेको छ भने कुवेत र जोर्डन १० अंक सहित दोस्रो र तेस्रो स्थानमा छन भने नेपाल तीन अंक सहित चौथो स्थानमा रहेको छ।
कोभिड संक्रमणको जोखिमका कारण खेलाडीहरु गत महिना बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमार्फत प्रशिक्षणमा फर्किएका थिए।
गत शुक्रबार एएफसीले विश्वकप छनोटको बाँकी खेल तालिका सार्वजनिक गरेको थियो। प्रशिक्षणमा सहभागी हुनुभन्दा पहिला सबै खेलाडीको पीसीआर परीक्षण गरिएको थियो।