सन् १९८२ मा इटालीलाई विश्वकप फुटबल जिताउन उत्कृष्ट प्रदर्शन गरेका फरवार्ड पाउलो रोसीको घरमा चोरी भएको छ।
उनको गत बिहीबार निधन भएको थियो।
६४ वर्षको उमेरमा ज्यान गुमाएका रोसीको शनिबार भाइसेन्जाको उत्तर-पूर्वी क्षेत्रमा अन्त्येष्टि गरिएको थियो। सो बेला उनको घरमा चोरी भएको बीबीसीले जनाएको छ।
इटालीको अन्सा न्युज एजेन्सीका अनुसार अन्त्येष्टिको कार्यक्रम भइरहेको बेला टस्केनीस्थित घरमा चोरी भएको हो।
अन्त्येष्टिको कार्यक्रम सकेर रोसीकी पत्नी फेडेरिकाले घर फर्किँदा चोरी भएको थाहा पाएकी थिइन्।
रोसीको घडी र केही नगद चोरी भएको हो। चोरी भएकोबारे प्रहरीलाई खबर गरिसकेको बीबीसीले जनाएको छ। प्रहरीले अनुसन्धान अघि बढाएको छ।
शनिबार रोसीको शव राखिएको कफिनलाई सन् १९८२ मा सँगै विश्वकप खेलेका मार्को टरडेली, जियानकार्लो एन्टोग्नोनी, एन्टोनियो काब्रिनी र फुल्भियो कोल्लोभाटीले बोकेका थिए।
उनीहरूले उक्त कफिन बोकेर सान्टा मारिया अन्नुन्सियाटा क्याथेड्रलमा पुर्याएका थिए।
रोसी केही समययता विभिन्न खाले स्वास्थ्य समस्यासँग जुध्दै आएका थिए।
इटालीका लागि ४८ अन्तर्राष्ट्रिय खेल खेलेका उनले विश्वकप १९८२ मा गोल्डेन बुट जितेका थिए। उनले इटालीका लागि रोसीले २० गोल गरेका थिए।
इटालीयन क्लब युभेन्ट्सबाट व्यवसायिक फुटबल खेलेका उनले त्यहीँ वर्ष बालन डी अर पुरस्कार पनि जितेका थिए।
सन् १९८१ मा टुरिन फर्किनुअघि युभेन्टसबाटै करियर सुरू गरेर रोसीले कोमो, भिसेन्जा र पेरुजियाबाट पनि व्यवसायिक फुटबल खेलेका थिए।
सन् १९७७-७८ को सिजनमा भिसेन्जाबाट उनले २४ गोल गर्दै इटालियन सिरी ‘ए’ को उच्च गोलकर्ता पुरस्कार जितेका थिए।
युभेन्टसमा चार सिजन बिताउने क्रममा उनले दुई पटक इटालियन सिरी ‘ए’, एक पटक कोपा इटालिया र एक पटक युरोपियन कप तथा अन्य थुप्रै उपाधि जितेका थिए।
व्यावसायिक फुटबलको अन्तिम समयतिर भने उनले हेलास भेरोना र एसी मिलानबाटसमेत व्यवसायिक फुटबल खेलेका थिए।
सन् १९८२ को विश्वकपको फाइनलमा पश्चिम जर्मनीविरुद्ध खेल जित्दा उनले निर्णायक गोल गरेका थिए।
इटालीका लागि विश्वकपमा उनले ९ गोल गरेका थिए।