१७ डिसेम्बर २००७, जुरिचमा लिओलन मेसी र क्रिस्टियानो रोनाल्डो फिफा अवार्डमा पहिलो पटक सँगै देखिएका थिए।
२० वर्षीय मेसी र २२ वर्षीय रोनाल्डोले त्यतिबेला अवार्ड जित्न सकेनन्। ब्राजिलका काकाले मेसी र रोनाल्डोले पछि पारेर फिफा वर्ष खेलाडीको अवार्ड जितेका थिए। त्यतिबेला मेसी दोस्रो र रोनाल्डो तेस्रो भएका थिए।
त्यसयता मेसी र रोनाल्डो लगातार १२ पटक वर्ष खेलाडीको अवार्डसँगै देखिए।
सन् २०१८ मा भने मेसी शीर्ष तीनमा पर्न असफल भए। शीर्ष तीन परेका रोनाल्डो र मोहमद सलाहलाई पछि पारेर क्रोएसियाका लुका मोड्रिक पहिलो अवार्ड जितेका थिए।
२०२० को द वेस्ट फिफा मेन्स प्लेयर्सको अवार्डको शीर्ष तीनमा पनि मेसी र रोनाल्डो सँगै हुनेछन्। यसपटकको अवार्डमा मेसी र रोनाल्डोसँगै रोबर्ट लेवान्डोस्कीले प्रतिस्पर्धा गर्दैछन्।
अवार्डको घोषणा आगामी १७ डिसेम्बरमा हुनेछ।
सन् २००८ मा मेसी र फर्नान्डो टोरेशलाई पछि पारेर रोनाल्डोले पहिलो पटक अवार्ड हात पारेको थिए। सन् २००९ मा भने मेसीले रोनाल्डो र जाभीलाई उछिनेर अवार्ड जिते।
त्यसयता मेसी र रोनाल्डोको वरिपरि फिफा अवार्ड घुमिरहेको छ। जसमा मेसीले सर्वाधिक ६ पटक र रोनाल्डोले ५ पटक अवार्ड जितेका छन्।
रोनाल्डोले गत सिजन इटालियन क्लब युभेन्ट्सबाट लिगको उपाधि जिते। गत सिजन रोनाल्डोले युभेन्ट्सका लागि ३१ गोल गरे। रोनाल्डो गत सिजन इटालियन सिरि ए, स्पेनिस ला लिगा र इंग्लिस प्रिमियर लिगमा ५० गोल गर्ने पहिलो खेलाडी बने।
गत सिजन मेसीका लागि उपलब्धिमूलक बन्न सकेन। मेसी उपाधिबिहिन रहे। गत सिजन बार्सिलोना ला लिगामा दोस्रो स्थानमा सीमित बन्यो। मेसीले गत सिजन २५ गोल गर्दा २१ एसिस्ट गरेका थिए।
लेवान्डोस्कीले गत सिजन युरोपियन च्याम्पियन्स, जर्मन बुन्डेस लिगा र लिग कपको उपाधि जिते। उनले गत सिजन वायर्न म्युनिखका लागि सबै प्रतियोगितामा गरी ५५ गोल गरे।