एसियाली फुटबल महासंघ (एएफसी) ले फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट चरणको नयाँ खेल तालिकाको मिति तय गरेको छ।
गत मार्च-अप्रिलका लागि तय भएका खेलहरु कोरोना भाइरसका कारण स्थगित भएका थिए। ती खेलहरु आगामी मार्च र जुनमा गर्ने एएफसीले पक्का गरेको हो।
छनोटअन्तर्गत अहिले भइरहेको दोस्रो चरणका खेलहरू आगामी जुन १५ सम्म सक्ने गरी नयाँ खेल तालिका तय भएका छन्।
दोस्रो चरणको छनोटमा नेपालले अब तीन खेल खेल्न बाँकी छ। म्याच डे ७, ८ र ९ का खेलहरू नेपालले घरेलु मैदानमा खेल्ने तय छ।
नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ।
नेपालले आगामी २५ मार्चमा चाइनिज ताइपेई, ३० मार्चमा अस्ट्रेलिया र ७ जुनमा जोर्डनसँग खेल्नेछ।
समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ।
नेपालले चाइनिज ताइपेईलाई हराएको थियो। अन्य चार खेलमा पराजित भएको थियो।
नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ समान खेलबाट १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ।