युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहमद सलाहले रेकर्ड बनाएका छन्।
समूह 'डी' अन्तर्गत बुधबार राति भएको खेलमा डेनमार्कको मिजिल्यान्डविरुद्ध ५५ सेकेन्डमा गोल गर्दै सलाहले रेकर्ड बनाएका हुन्।
यो गोल च्याम्पियन्स लिगमा भएको अहिलेसम्मकै छिटो गोल हो। सलाहले च्याम्पियन्स लिगमा गरेको यो २२औं गोल हो। जससँगै उनले क्लबका लिजेन्ड स्टेभिन जेरार्डलाई पछि पार्न सफल भए।
सलाहले कीर्तिमानी गोल गरे पनि लिभरपुल भने खेलमा १-१ गोलको बराबरीमा रोकियो।
यो समूहबाट लिभरपुल यसअघि नै अन्तिम १६ मा पुगिसकेको थियो।
यहि समूहको अर्को खेलमा इटालियन क्लब एटलान्टाले डच क्लब अयाक्सलाई १-० गोलले पराजित गरेर अन्तिम १६ मा स्थान पक्का गरेको छ।
समूहमा लिभरपुलले १३ अंक जोड्दा एटलान्टानले ११ अंक जोड्यो। ७ अंकमा सीमित भएपछि अयाक्स बाहिरियो। मिजिल्यान्डले भने २ अंक मात्र जोड्न सक्यो।
यता समूह 'सी' मा म्यानचेस्टर सिटीले फ्रेन्च क्लब मार्सेलीलाई ३-० र एफसी पोर्टोले ओलम्पियाकोसलाई २-० ले हराए।
समूहमा सिटी १६ अंक जोड्दै विजेता र पोर्टो १३ अंक जोडेर उपविजेता बने। ओलम्पियाकोस र मार्सेलीले भने ३-३ अंक मात्र जोड्न सके।