जर्मनीको बोरुसिया डर्टमन्ट र इटालीको लाजियोले युरोपेली च्याम्पियन्स लिगमा समूह एफबाट नकआउट चरण पुगेका छन्।
गएराति भएका खेलहरुमा डर्टमन्टले रुसी क्लव जेनितलाई २-१ ले हराउँदा लाजियोले क्लब वर्गसँग २-२ गोलको बराबरी खेल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेका हुन्।
जितपछि डर्टमन्ड १३ अंकसहित समूहको शीर्ष स्थानमा रह्यो । समूहका ६ मध्ये ४ खेलमा बराबरी गरेको लाजियो समुह उपविजेताका रुपमा नकआउट चरणमा पुग्यो।
गएराति भएको खेलमा डर्टमन्टले दोस्रो हाफमा २ गोल गर्दै जेनितमाथि सहज जित निकालेको थियो। पहिलो हाफमा पछि परेको डर्टमन्टका लागि खेलको ६८ औं मिनेटमा पिसज्याकले गोल गर्दै खेल बराबरीमा ल्याउँदा खेलको ७८ औं मिनेटमा विटसेलले निर्णायक गोल गरेका थिए।
यस्तै अर्को खेलमा लाजियोले क्लब वर्गसँग २-२ गोलको बराबरी खेलेको थियो। खेलको १२औं मिनेटमा कोरियाको गोलबाट अग्रता लिएको थियो। तर खेलको १५ औं मिनेटमा वर्गका लागि भोर्मेरले बराबरी गोल गरेका थिए। त्यसपछि खेलको २७ औं मिनेटमा इम्मोबिलले पेनाल्टीमार्फत गोल गर्दै खेलमा पुनः लाजियोलाई अग्रता दिलाए। पहिलो हाफमा १ गोलले पछि परेको वर्गका लागि खेलको ७६ औं मिनेटमा भानाकोनले गोल गर्दै खेल बराबरीमा ल्याए।
यो समूहबाट क्लब वर्गले युरोपा लिग खेल्नेछ। जेनित समूहको अन्तिममा रहेर घर फर्कियो ।