मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको कीर्तिमानी आठौँ पटक उपाधि उचालेको छ ।
मनाङले लिगका १३ मध्ये १२ खेल जित्दै लिग उपाधि जितेको हो। मनाङले लिगको अन्तिम खेलमा भने आज फ्रेन्ड्ससँग पराजित भयो।
दुई खेल अगावै च्याम्पियन बनेको मनाङले आज लिग समाप्तिसँगै उपाधि उचालेको हो।
यसअघि मनाङले २०४२–४३, २०४३–०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० सालमा उपाधि उचालेको थियो।
उपाधिसँगै मनाङले ५० लाख नगद प्राप्त गरेको छ। यस्तै दोस्रो भएको संकटाले ३५ लाख पुरस्कार पाउँदा थ्री स्टारले २५ लाख नगद पुरस्कार प्राप्त गर्यो।
१४ क्लबले प्रतिस्पर्धा गरेको यो लिगमा विजेता, उपविजेता र तेस्रोसँगै शीर्ष ६ स्थानमा रहने टोलीले नगद पुरस्कार प्राप्त गरेका छन्।
लिगको चौथो बनेको त्रिभुवन आर्मी क्लबले १५ लाख, पाँचौ स्थानका एपिएफले सात लाख र छैटौं स्थानका नेपाल पुलिसले पाँच लाख प्राप्त गरेका छन्। त्यसैगरी फेयर प्ले टोली घोषित हुँदै ब्रिगेड ब्वाइजले एक लाख प्राप्त गरेको छ
यस्तै पुछारको दुई टोलीले भने ऋण अंक प्राप्त गरेको छ। लिगको पुछारमा मछिन्द्र र एनआरटी रह्यो।
सहिद स्मारक ए डिभिजन लिगको व्यक्तिगत स्पर्धामा लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबका खेलाडीले बर्चस्व जमाएका छन्।
लिगको उत्कृष्ट पाँच मध्य तीन विधामा मनाङका खेलाडी तथा प्रशिक्षकले बाजी मारेका हुन्। अन्य दुई विधामा थ्री स्टार र आर्मी क्लबका खेलाडी उत्कृष्ट चुनिए।
प्रतियोगितामा उत्कृष्ट फरवार्ड आर्मीका कप्तान भरत खवास भए। उत्कृष्ट गोलकिपर मनाङका विशाल श्रेष्ठ, डिफेन्डर थ्री स्टारका रञ्जित धिमाल, मिडफिल्डर मनाङका हेमन गुरुङ र प्रशिक्षक मनाङका सुमन श्रेष्ठ चुनिए।
उत्कृष्ट खेलाडी र प्रशिक्षकले एक एक थान पल्सर मोटरसाइकल र नगद ५० हजार प्राप्त गरेका छन्।
यस्तै प्रतियोगितामा आर्मीका डिफेन्डर विकास खवासले ‘मणि बिक्रम शाह युवा खेलाडी’ अवार्ड जिते। अवार्डसँगै उनले नगद एक लाख रुपैयाँ प्राप्त गरे।
विजेता टोलीलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले पुरस्कार तथा ट्रफी प्रदान गरे।
लिग गत भदौ १३ गतेदेखि शुरु भएको थियो । राउण्ड रोविन लिगको आधारमा भएको प्रतियोगितामा कुल ९१ खेल भएका थिए । ‘ए’ डिभिजन लिग चार वर्षपछि भएको हो । पछिल्लो पटक विस २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो ।