नेपाल फिफा वरियतामा ३ स्थान माथि उक्लिएको छ। आगामी साता रसियामा सुरू हुने फिफा विश्वकप फुटबल अगाडि बिहिबार फिफाले सार्वजनिक गरेको विश्व फुटबलको वरीयतामा नेपाल ३ स्थान माथि उक्लदै १६१औं स्थानमा पुगेको छ।
दक्षिण एसियामा भारत सबैभन्दा माथि ९७औं स्थानमा यथावत छ भने ५ स्थान तल झरेको अफगानिस्तान १४५औं र २ स्थान तल झरेको माल्दिभ्स १५० औं स्थानमा छन्।
यस्तै एक स्थान सुधार गर्दै भुटान १८३ तथा ३ स्थान सुधार गरेको बंगलादेश १९४ औं स्थानमा उक्लिएका छन्। श्रीलंका २००औँ स्थानमा यथावत रहँदा २ स्थान सुधार गरेको पाकिस्तान २०१औं स्थानमा छ।
विश्वकपमा सावित विजेता जर्मनी शीर्ष स्थानमा यथावत रहँदा ब्राजिल दोस्रो बेल्जियम तेस्रो पोर्चुगल चौथो तथा अर्जेन्टिना पाँचौ स्थानमा यथावत छ। यस्तै स्वीट्जरल्याण्ड छैटौँ सातौँ स्थानमा कायम रहँदा दुई स्थान सुधार गरेको पोल्याण्ड आठौँ स्थानमा उक्लेको छ। चिली नवौँ स्थानमा यथावत छ भने स्पेन दुई स्थान तल झर्दै दशौँमा पुगेको छ।
आयोजक रसिया विश्वकप खेल्नेमध्ये सबैभन्दा तल्लो वरीयतामा परेको छ।