स्पेनिस ला लिगा फुटबल अन्तर्गत शिीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकिएको छ। बिहीबार राति सम्पन्न खेलमा बार्सिलोना रेलिगेसन जोनको टोली लास पाल्माससँग १ – १ गोलको बराबरीमा रोकिएको हो।
पहिलो हाफको २१ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाएका थिए। तर लास पाल्मासको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोनाले अंक बाँड्यो। तर, दोस्रो हाफको सुरुवातमै लास पाल्मास खेलमा फर्कियो। खेलको ४८ औं मिनेटमा जोनाथन काल्लेरीले पेनाल्टीमा गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल १ – १ गोलको बराबरीमा सकियो।
बराबरीसँगै बार्सिलोनाले २६ खेलबाट ६६ अंक जोडेको छ। बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा ५ अंकले अघि रहेको छ। लास पाल्मास भने २० अंक जोडेर लिगको पुछारबाट तेस्रो स्थानमा छ।
स्पेनिस ला लिगा अन्तर्गत नै बिहिबार राती लेभान्टेले अलाभेसलाई १ – ० ले हराएको छ। यस्तै रियल बेटिस र रियल सोसिडाडले भने गोलरहित बराबरी खेल्दै अंक बाँडे।