इंलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले आर्सनललाई माथि सहज जित हात पारेको छ। बिहिबार राति भएको खेलमा सिटीले आर्सनललाई ३ – ० ले हराएको हो।
आर्सनलको घरेलु मैदानमा सिटीलाई जित दिलाउन बर्नार्डो सिल्भा, डेभिड सिल्भा र लोरी सानेले एक–एक गोल गरेका थिए। गत साता सम्पन्न काराबाओ कपको फाइनलमा पनि सिटीले आर्सनललाई नै ३ – ० ले हराएको थियो।
खेलको १५ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको २८ औं मिनेटमा डेभिड सिल्भाले गोल गर्दै सिटीलाई २ – ० को अग्रता दिलाए। यस्तै ३३ औं मिनेटमा सानेले गोल गरेपछि पहिलो हाफमा सिटीले ३ – ० को अग्रता बनायो।
पहिलो हाफमा ३ – ० ले पछि परेको आर्सनलले दोस्रो हाफमा गोल गर्ने केहि अवसर खेर फालेको थियो। जसको कारण आर्सनल सिटीसँग पराजित हुन पुग्यो। खेलको ५३ औं मिनेटमा आर्सनलका पियर एम्रिक अबामेयाङले पेनाल्टीमा गोल गर्न सकेनन्। त्यसपछि दुवै टोलीले थप गोल सकेनन् र खेल सिटीले ३ – ० ले आफ्नो बनायो।
यो जितसँगै सिटीले २८ खेलबाट ७५ अंक जोडेको छ। सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडमाथि १६ अंकले अग्रता बनाएको छ। युनाइटेडको २८ खेलबाट ५९ अंक रहेको छ। पराजित आर्सनल ४५ अंक जोडेर छैटौं स्थानमा छ।