इटालीका मिडफिल्डर आन्द्रेइ पिर्लोले अन्तर्राष्ट्रिय फुटबलबाट शन्यास लिएका छन्। न्युयोर्क सिटीबाट अन्तिम खेल खेल्दै उनले सोमबारदेखि फुटबलबाट शन्यासको घोषणा गरेका हुन्।
इटालीबाट १ सय १६ अन्तर्राष्ट्रिय खेल खेलेका ३८ वर्षीय पिर्लो सन् २००६ मा इटालीले विश्वकप जितेको टिमको महत्वपूर्ण सदस्य थिए।
ब्रेसिया क्लबबाट फुटबल यात्रा सुरू गरेका उनले इन्टर र एसी मिलान हुँदै युभेन्ट्सबाट क्लब फुटबल खेल्ने गरेका थिए। पछिल्लो २ वर्षयता अमेरिकामा बसेर मेजर लिग फुटबल खेलिरहेका पिर्लोले न्युयोर्कको आफ्नो यात्रा मात्र नभएर समग्र फुटबल खेलाडीको रूपमै यात्रालाई विश्राम दिने निर्णय गरेको बताएक छन्।
उनले आफ्नो व्यवसायिक करिअरमा साथ दिने सबै खेलाडी र क्लबलाई ट्विटरमार्फत धन्यवाद दिए।
२२ वर्ष लामो फुटबल करिअरमा उनले थुप्रै घरेलु उपाधिसँगै एसी मिलानबाट खेल्दा २ वटा सिरिया ए र २ वटा च्याम्पियन्स लिग तथा एक पल्ट क्लब विश्वकप जितेका थिए। युभेन्ट्सबाट पनि उनले ४ पल्ट स्कुडेटोस जितेका थिए।