बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। पाको अल्कासरले दुई गोल गरेपछि स्पेनिस लिगमा शनिबार राति बार्सिलोनाले आफ्नो घरेलु मैदानमा सेभिललाई २–१ गोलले पन्छायो।
वर्षाले प्रभावित खेलमा २४ वर्षीय फरवार्डले लिओनल मेसी र लुइस सुआरेजसँग खेल्दै निर्णायक दुई गोल गरेका थिए। उनले पहिलो गोल २३ मिनेटमा सुआरेजको लामो पासमा गरे।
सेभिलका गुइडो पिजारोले ५९ मिनेटमा खेललाई १–१ गोलको बराबरीमा ल्याएको अवस्थामा उनले त्यसको ६ मिनेटपछि नै गोल गरे। अल्कासरले ६५ मिनेटमा इभान राकिटिकको क्रसमा सुन्दर गोल गरेका थिए।
गएरातिको खेलसँगै बार्सिलोना ११ खेलबाट ३१ अंक बटुल्दै लिगको शीर्षस्थानमा कायमै छ। उसलाई पछ्याइरहेको भेलेन्सियाको २७ अंक छ।
लिगको तेस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड २३ अंक बटुलेको छ। एक खेल कम खेलेको रियल म्याड्रिडको २० अंक छ।