दक्षिण अफ्रिकाविरुद्ध तेस्रो टेस्ट जितका लागि इङ्ल्यान्डले ६ विकेट आवश्यक देखिएको छ। ओभल टेस्टको चौथो दिन आइतबार ४ सय ९२ रनको लक्ष्य पाएको अफ्रिकाले १ सय १७ रन जोड्ने क्रममा ४ विकेट गुमाइसकेको छ।
पहिलो इनिङमा सतक बनाएका बेन स्टोक्सले दुई बलमा २ विकेट झारेपछि अफ्रिका संकटमा देखियो। पहिलो इनिङमा ३ सय ५३ रन बनाएको इङ्ल्यान्डले दोस्रो इनिङमा ८ विकेटको क्षतिमा ३ सय १३ रन बनाएर इनिङ समाप्तीको घोषणा गरेको थियो।
प्रत्युत्तरमा पहिलो इनिङमा १ सय ७५ रनमा अल आउट भएको अफ्रिका पुनः संकटमा देखिएको हो। इङ्ल्यान्डका लागि दोस्रो इनिङमा बेयरस्ट्रोले ६३ र वेस्लेले ५९ रन बनाए।
अफ्रिकी ब्याट्सम्यान डिन इल्गर ७२ रन बनाएर खेलिरहेका छन्। स्टोक्सले क्वान्टन डी ककलाई ५ र फाफ डुप्लेसिसलाई गोल्डेन डक गरेका थिए। इङ्ल्यान्डका डेब्यु बलर टोबी रोलान्ड जोन्सले हासिम अमलाको महत्वपूर्ण विकेट लिए। उनले हमलालाई ५ रनमै आउट गरे। टोबीले पहिलो इनिङमा पनि ५ विकेट लिएका थिए।