इङ्लिस ब्याट्सम्यान जोए रुट टेस्ट क्रिकेटमा एउटा रोचक कीर्तिमानतर्फ अगाडि बढिरहेका छन्। दक्षिण अफ्रिकाविरुद्ध भइरहेको तेस्रो ओभल टेस्टमा उनले दोस्रो इनिङमा ५० रन बनाउने क्रममा अनौठो कीर्तिमान बनाएका छन्।
उनले पछिल्लो ९ टेस्टमा लगातार अर्धसतक बनाउँदै आइरहेका छन्। उनले २०१६ को अक्टुवरमा बंगलादेशविरुद्ध ढाका टेस्टमा अर्धसतक बनाएयता कुनै यस्तो टेस्ट छैन, जसमा उनले अर्धसतक पुरा नगरेका हुन्।
विश्व क्रिकेटमा उनीभन्दा अगाडि अफ्रिकाकै एबी डी भिलियर्सको नाममा लगातार अर्धसतक बनाउने कीर्तिमान छ। भिलियर्सले १२ टेस्टमा लगातार अर्धसतक बनाएका थिए। रुट अब भिलियर्सको कीर्तिमानतर्फ अगाडि बढेका छन्।
रुट इङ्ल्यान्डबाट २०१७ को सिजन सर्वाधिक रन बनाउने ब्याट्सम्यानमा पनि अगाडि छन्। यस वर्ष उनले ३ टेस्टमा ६० को औसतले ३ सय ६० रन बनाइसकेका छन्। जसमा एक पल्ट सय रन र दुईवटामा ५० रन छ।
विश्व क्रिकेटमा रन बनाउने अभियानमा उनी २२ औं स्थानमा छन्। टेस्ट क्रिकेटको ५५ खेलमा रुटले ५३ दशमलव ५७ को औसतले ४ हजार ८ सय ७५ रन बनाएका छन्। जसमा १२ सतक र २८ अर्धसतक समावेश छ। उनले टेस्टमा व्यक्तिगत सर्वाधिक २ सय ५४ रन बनाएका छन्। उनले २ पल्ट टेस्टमा २ सय रन बनाएका छन्।