भारतीय कप्तान विराट कोहलीले गालेमा श्रीलंकाविरुद्ध पहिलो टेस्टको दोस्रो इनिङमा सतकीय इनिङ खेलेपछि उनले अन्तर्राष्ट्रिय क्रिकेटको तीन वटै फरम्याटमा ५० भन्दा माथिको औसतले रन बनाउने प्रभावशाली कीर्तिमान बनाएका छन्।
विराटले गाले टेस्टमा १ सय ३ रन बनाएका थिए। पहिलो टेस्टमा सतक बनाएपछि उनको टेस्टमा रन बनाउने औसत ५० दशमलव ३ पुगेको छ। विराटले एकदिवसीयमा ५४ दशमलव ६८ को औसतले रन बनाएका छन्। यस्तै टि–२० मा उनको रन औसत ५३ को छ।
उनी अहिले अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका विश्व क्रिकेटका अन्य ब्याट्सम्यानमध्ये तीन वटै फरम्याटमा ५० भन्दा माथिको औसत हुने एक्लो ब्याट्सम्यान हुन्। विराटले टेस्ट क्रिकेटमा १७ सतक बनाएका छन्। उनले टेस्ट शृंखलाको पहिलो टेस्टमै सतक बनाएको यो आठौं पल्ट हो।
उनले कप्तानको भूमिकामा सतक बनाउने पूर्व भारतीय कप्तान मोहम्मद अजहररुद्धिनको कीर्तिमानलाई पछाडि छोडेका छन्। अजहरले यसअघि टेस्ट कप्तानको भूमिकामा ९ वटा सतक बनाएका थिए। विराटले १० वटा सतक बनाएका छन्।
उनको अगाडि अब सुनिल गावस्करको ११ सतकको कीर्तिमान छ। विराटको विदेशी भूमिमा यो १० औं सतक पनि थियो।