भारतले श्रीलंकाविरुद्ध तीन टेस्टको शृंखलाअन्तर्गत पहिलो टेस्ट चौथो दिनमै जितेको छ। शनिवार पहिलो टेस्टको चौथो दिन उसले घरेलु श्रीलंकालाई ३ सय ४ रनको विशालअन्तरले पराजित गर्यो।
भारतले जितका लागि श्रीलंकासमक्ष ५ सय ५० रनको लक्ष्य राखेको थियो। जसमा घरेलु टोलीले दोस्रो इनिङमा २ सय ४५ रन मात्र बनायो।
आठौं विकेटको रुपमा लाहिरु कुमारा आउट भएपछि श्रीलंकाको दोस्रो इनिङ पनि समाप्त भएको थियो। हेराथ र गुणरत्ने चोटका कारण ब्याटिङ गर्न फर्किएनन्।
श्रीलंकाका लागि दोस्रो इनिङमा दिमुथ करुणारत्नेले ९७ र निरोशन डिकवेलाले ६७ रन बनाए। पहिलो इनिङमा १ सय ९० रन बनाउने शिखर धवन म्यान अफ दि म्याच घोषित भए। भारतले शृंखलामा १–० को अग्रता बनाएको छ।
भारतले शनिवार बिहान आफ्नो दोस्रो इनिङलाई ३ विकेटको क्षतिमा २ सय ४० सम्म पुर्याएर इनिङ समाप्तीको घोषणा गरेको थियो। भारतीय कप्तान विराट कोहलीले टेस्टमा १७ औं सतक पुरा गर्ने क्रममा अविजित १ सय ३ रन बनाए। भारतले पहिलो इनिङमा ६ सय रन बनाएको थियो। प्रत्युत्तरमा श्रीलंका पहिलो इनिङमा २ सय ९१ मा आउट भयो।
भारत दुई वर्षअगाडि गाले टेस्टमा श्रीलंकासँग पराजित भएको थियो। दोस्रो इनिङमा रवीन्द्र जडेजा र रवीचन्द्रन अश्विनले ३–३ विकेट लिएका थिए।