श्रीलंकाविरुद्ध पहिलो टेस्टमा भारतले ४ सय ९८ रनको अग्रता बनाएको छ। भारतले पहिलो इनिङमा बनाएको ६ सय रनलाई पछ्याउने क्रममा श्रीलंका २ सय ९१ रनमा खुम्चिएको छ। शुक्रबार तेस्रो दिन पुनः दोस्रो इनिङको सुरुवात गरेको भारतले ३ विकेटको क्षतिमा १ सय ८९ रन बनाइसकेको छ।
भारतका लागि दोस्रो इनिङमा शिखर धवन १४, चेतेश्वर पुजारा १५ र अभिनव मुकुन्द ८१ रनमा आउट भएका थिए। अभिनव ४६ दशमलव ३ ओभरमा गणतिलकाको बलमा एलबिडब्लुको शिकार भएपछि तेस्रो दिनको खेल समाप्त भएको थियो। कप्तान विराट कोहली ७६ रनमा अविजित छन्।
यसअघि श्रीलंकाका लागि पहिलो इनिङमा दिलरुवान परेराले अविजित ९२, एन्जेलो म्याथ्युजले ८३, उपुल थरङ्गाले ६४ रन बनाएका थिए। भारतका लागि रविन्द्र जडेजाले ३ र मोहम्मद सामीले २ विकेट लिएका थिए।