आइसिसीले अन्ततः यूएसए क्रिकेटलाई निलम्बन गर्ने निर्णय गरेको छ।
भर्चुअल बैठकपछि आइसिसी बोर्डले मंगलबार यूएसए क्रिकेटलाई निलम्बन गर्ने निर्णय गरेको हो।
यूएसए क्रिकेटको निलम्बनले फेब्रुअरीमा भारत र श्रीलंकामा सुरु हुने टी-२० विश्वकप र लस एन्जलस २०२८ ओलम्पिक जसेता खेलहरूमा राष्ट्रिय टोलीको सहभागितालाई असर भने गर्ने छैन।
यो निलम्बन आइसिसीले जुलाईमा आफ्नो वार्षिक साधारण सभामा यूएसए क्रिकेट लाई ‘निष्पक्ष चुनाव’ गर्न र ‘व्यापक’ प्रशासनिक सुधारहरू गर्न तीन महिनाको समय दिएको दुई महिनापछि आएको हो।
त्यसबेला आइसिसीले यूएसए क्रिकेट ‘नोटिसमा’ रहने बताएको थियो।
आइसिसी बोर्डले यूएसए क्रिके लाई सुधारको प्रगतिको आधारमा कुनै पनि कारबाही गर्ने अधिकार सुरक्षित राखेको चेतावनी पनि दिएको थियो। अन्ततः, मंगलबार साँझ आइसिसीले यूएसए क्रिकेटलाई ‘तत्काल प्रभाव’ सहित निलम्बन गर्यो र अस्थायी रूपमा ‘युएसए राष्ट्रिय टोलीहरूको व्यवस्थापन र प्रशासन’ आफ्नो हातमा लिएको छ।
‘आजको बैठकमा आइसिसी बोर्डले गरेको निर्णयमा यूएसए क्रिकेटले आइसिसीको विधानअन्तर्गत आइसिसी सदस्यको रूपमा आफ्नो दायित्वहरूको बारम्बार र निरन्तर उल्लंघन गरेको आधारमा लिइएको हो,’ आइसिसीको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यसमा कार्यात्मक प्रशासनिक संरचना लागू गर्न असफल हुनु, संयुक्त राज्य ओलम्पिक र पाराओलम्पिक समितिबाट राष्ट्रिय प्रशासनिक निकायको स्थिति प्राप्त गर्नमा प्रगतिको अभाव, र संयुक्त राज्य अमेरिका र विश्वभर क्रिकेटको प्रतिष्ठामा क्षति पुर्याउने महत्वपूर्ण कार्यहरू समावेश छन्।’
युएसए टोलीहरूले अझै पनि आइसिसी प्रतियोगिताहरूमा भाग लिन र ओलम्पिकको लागि तयारी गर्न सक्नेछन्।
यूएसए क्रिकेटलाई नोटिसमा राखिएको समयमा आइसिसीले ‘रोडम्याप’ बनाउन र युएस ओलम्पिक र पाराओलम्पिक समितिबाट राष्ट्रिय प्रशासनिक निकायस्थिति प्राप्त गर्न सहयोग गर्न यूएसए क्रिकेटसँग काम गरिरहेको थियो।
यूएसए क्रिकेटले आफ्नो निलम्बन हटाउनको लागि नर्मलाइजेसन समितिले आइसिसी व्यवस्थापनसँगको समन्वयमा प्रक्रियाको पालना गर्नुपर्नेछ। जसमा युएसए क्रिकेटको प्रशासनिक संरचना, कार्यप्रणाली र क्रिकेट इकोसिस्टममा समग्र स्थितिमा प्रदर्शनयोग्य र विशिष्ट परिवर्तनहरू समावेश हुनेछन्। समितिले युएसए क्रिकेटको प्रगतिलाई पनि अनुगमन गर्नेछ र परामर्श समर्थन प्रदान गर्नेछ।