डेभिड वार्नर, शकिब अल हसन, एलेक्स हेल्स र कार्लोस ब्राथवेट जस्ता विश्व प्रसिद्ध खेलाडीहरू सहभागी केम्यान आइल्याण्ड्सको एक टी-१० क्रिकेट प्रतियोगिता खेलाडीले तलब नपाएको आरोप लागेपछि कारण संकटमा परेको छ।
खेलाडीहरूलाई समयमा तलब नदिइएपछि खेलहरू रद्द भएका छन्। यसले गर्दा यो प्रतियोगिताको भविष्य नै अनिश्चित बनेको छ।
‘म्याक्स-६० क्यारेबियन’ नामको यो प्रतियोगिता गत वर्ष सुरु भएको थियो। दोस्रो संस्करण मैदान बाहिरका विवादले संकटग्रस्त बनेको छ। क्रिकइन्फोको रिपोर्टअनुसार प्रतियोगिता सुरु हुनुभन्दा ३० दिन अगाडि नै पाउनुपर्ने तलब अधिकांश खेलाडीले नपाएपछि उनीहरूले हड्ताल गरेका थिए। जसका कारण मंगलबारका पाँचवटा खेल रद्द भए।
मंगलबार साँझ आयोजक म्याक्स६० ले आफ्नो इन्स्टाग्राममा ‘मैदान बाहिरका समस्याका कारण’ सबै खेल रद्द गरिएको र फाइनल खेल बिहीबार लिग तालिकाको पहिलो र तेस्रो स्थानमा रहेका 'क्यारिबियन टाइगर्स' र 'भेगास भाइकिंग्स' बीच हुने घोषणा गर्यो।
तर, पछि त्यो पोस्ट हटाइएको थियो। बुधबार बिहान उक्त फाइनलको सट्टा लिगमा पाँचौं स्थानमा रहेको 'ग्रान्ड केम्यान फाल्कन्स' र 'भेगास भाइकिंग्स' बीच 'रनर-अप प्लेअफ' हुने र त्यसपछि ट्रफी वितरण गरिने जानकारी दिइयो।
खेलाडीहरूको यस हड्ताललाई विश्व क्रिकेटर संघले समर्थन गरेको छ। संघले यस्तो पारिश्रमिक नदिने समस्याले सम्झौतालाई 'कागजको खोस्टो' जस्तै बनाएको भन्दै यो पछिल्लो उदाहरण भएको बताएको छ।
क्रिकेटर संघका प्रमुख कार्यकारी टम मोफटले भने, ‘खलाडीहरूले आफ्नो सम्झौताअनुसार पाउनुपर्ने रकम अझै नपाएको सुन्दा दुःख लागेको छ। खेलाडीहरूले सुरुदेखि नै इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गरेका छन्, तर सम्झौताका सर्तहरू खुलेआम उल्लंघन हुँदा पनि उनीहरूले मैदानमा आएर खेल्छन् भन्ने अपेक्षा गर्नु अनुचित हो।’
उनले थपे, ‘कुनै नौलो समस्या होइन। यो आइसिसीबाट मान्यता प्राप्त क्रिकेट प्रतियोगिताले खेलाडीको सम्झौतालाई कसरी बेवास्ता गर्छ भन्ने अर्को उदाहरण हो। यस्ता समस्याहरूको सरल समाधान छ र खेलको विश्वव्यापी नेतृत्व र नियमहरूले सम्पूर्ण खेल जगत र यसभित्रका मानिसहरूलाई सुरक्षा दिनुपर्छ।’
म्याक्स६० प्रतियोगिता दुबईस्थित कम्पनी 'बीएमपी स्पोर्ट्स' ले सञ्चालन गर्छ। यो कम्पनी अबु धाबी, जिम्बाब्वे र श्रीलंकाका टी१० लिगमा सहभागी 'ब्रेभ्स' फ्रेन्चाइजसँग पनि सम्बन्धित छ।