भातरका विकेटकिपर ब्याटर ऋषभ पन्तले म्यानचेस्टरमा जारी इंग्ल्यान्डविरूद्धको अर्को साता सुरु हुने द ओभलको अन्तिम टेस्ट गुमाउने भएका छन्।
बुधबार खेलको पहिलो दिन उनको दायाँ खुट्टामा लागेको चोटका कारण उनी बाँकी खेलमा अनुपस्थित हुने पुष्टि भएको छ।
पन्तले यो चौथो टेस्टमा विकेटकिपिङ नगर्ने निश्चित भए पनि आवश्यक परेमा उनलाई ब्याटिङ गराउने वा नगराउने भन्नेबारे भारतीय टिम व्यवस्थापनले बीसिसिआईको मेडिकल स्टाफसँगको सल्लाहमा निर्णय लिनेछ।
उनको दायाँ खुट्टाको हड्डीमा फ्र्याक्चर भएको हो र प्रारम्भिक अनुमान अनुसार उनलाई ६ देखि ८ हप्ता आराम गर्नुपर्नेछ।
म्यानचेस्टरस्थित टिम होटेल बाहिर फ्यानहरूले खिचेका भिडियो क्लिपहरूमा पन्तले आफ्नो दायाँ खुट्टामा विशेष प्रकारको जुत्ता लगाएको देखिएको थियो।
यो चोट खेलको दोस्रो सत्रमा लागेको थियो। क्रिस वोक्सको बलमा 'रिभर्स स्विप' खेल्ने प्रयास गर्दा बल उनको ब्याटको भित्री किनारामा लाग्दै दायाँ खुट्टामा ठोक्किएको थियो। उनी तुरुन्तै निकै पीडामा देखिए र चोट लागेको ठाउँ तत्कालै सुनियो।
त्यसबेला ३७ रनमा खेलिरहेका पन्त 'रिटायर्ड हर्ट' हुँदै मैदानबाट बाहिरिए। त्यसको केही समयपछि गरिएको स्क्यानमा फ्र्याक्चर भएको पत्ता लागेको थियो।
पन्त पीडाले छटपटाइरहँदा बल ब्याटमा नलागेको ठानेर इंग्ल्यान्डका खेलाडीहरूले तुरुन्तै 'एलबीडब्लु' को अपिल गरेका थिए। उनले एलबीडब्लुको अपिल र त्यसपछिको रिभ्युबाट त जोगिए, तर तत्कालै सुन्निएको र खुट्टामा अलिकति पनि भार दिन नसकेको स्पष्ट देखिन्थ्यो।
भारतका विकेटकिपर तथा उप-कप्तान पन्तलाई पहिले मैदानकै मेडिकल सेन्टरमा लगिएको थियो। जहाँ कप्तान शुभमन गिल उनको अवस्थाबारे सोधपुछ गर्न पुगेका थिए। त्यसपछि उनलाई अस्पताल लगियो।
यो उनको लगातार दोस्रो टेस्टमा दोस्रो चोट हो। यसअघि लर्ड्समा भएको खेलमा इंग्ल्यान्डको पहिलो इनिङ्समा विकेटकिपिङ गर्दा उनको बायाँ हातको चोर औंलामा चोट लागेको थियो। उक्त टेस्टको बाँकी समय ध्रुव जुरेलले विकेटकिपिङ गरेका थिए र यो टेस्टमा पनि उनलाई नै जिम्मेवारी दिइने सम्भावना छ।
चोट लाग्नुअघि पन्तले ४८ बलमा ३७ रनको संयमित इनिङ्स खेलेका थिए, जसमा उनले जोफ्रा आर्चरलाई 'स्लग स्विप' मा चौका हानेको जस्ता केही उत्कृष्ट शटहरू पनि खेलेका थिए।