नेपाली राष्ट्रिय टक्रिकेट टोलीका २० जना क्रिकेटर अहिले भारतमा छन्। आइसिसी टी-२० विश्वकप २०२६ को एसिया छनोटका लागि नेपाली टोलीका २० क्रिकेटर भारतको बेंगलुरुस्थित बिसिसिआई सेन्टर अफ एक्सिलेन्समा प्रशिक्षण क्याम्पमा छन्। यो क्याम्प सोमबारदेखि सुरू भएको छ भने अगस्ट ३ सम्म सञ्चालन हुनेछ।
यसअघि पनि सन् २०२४ को अगस्टमा नेपाली पुरुष क्रिकेट टोलीले सेन्टर अफ एक्सिलेन्समा प्रशिक्षण गरेका थिए।
यस्तै भारतका विदेश मन्त्री एस जयशंकरले जनवरी २०२४ मा नेपालको राष्ट्रिय पुरुष क्रिकेट टोली र क्यानका प्रतिनिधिहरूसँग भेट गरी नेपालमा क्रिकेटको विकासका लागि भारतको समर्थन रहने कुरा व्यक्त गरेका थिए।
नेपालले जुन २०२४ मा भएको आइसिसी टी-२० विश्वकपअघि अप्रिल २०२४ मा बरोडा र गुजरात क्रिकेट एसोसिएसनका टोलीहरूसँग त्रिकोणात्मक टी-२० अभ्यास प्रतियोगितामा भाग लिएको थियो।
यस्तै भारत सरकारले आइसिसी यू-१९ विश्वकप छनोटको तयारीमा नेपाललाई सहयोग गर्न मार्च २०२५ मा नेपालमा नेपाल र दिल्ली एण्ड डिस्ट्रिक्ट क्रिकेट एसोसिएसन को यू-१९ टोलीबीचको अभ्यास प्रतियोगितालाई सहयोग गरेको थियो।
नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले थाइल्याण्डमा मे २०२५ मा हुने आइसिसी महिला एसिया विश्वकप छनोटको तयारीका लागि अप्रिल-मे २०२५ मा दिल्लीमा एक तयारी शिविरमा भाग लिएको थियो। उक्त छनोट प्रतियोगितामा नेपाल फाइनलसम्म पुगेको थियो।
जुलाई २०२५ मा, काठमाडौंस्थित भारतीय दूतावासले नेपालका तीन जना यू-१९ क्रिकेटरहरूलाई भोपालमा एक महिना लामो व्यावसायिक प्रशिक्षण कार्यक्रमका लागि सहयोग गरेको थियो।
विगतमा पनि भारत सरकारले नेपालमा क्रिकेटलाई सहयोग गर्न विभिन्न पहल गरेको थियो। सन् २०१३ मा क्यानलाई एउटा बस उपहार दिइएको थियो। अक्टोबर २०२३ मा काठमाडौंस्थित भारतीय दूतावासले बीपी कोइराला भारत-नेपाल फाउण्डेसन र भारत सरकारको सार्वजनिक क्षेत्रको उपक्रम एसजेवीएन लिमिटेडमार्फत नेपालको राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई व्यावसायिक खेलकुद सामग्री हस्तान्तरण गरेको थियो।