अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को वार्षिक साधारण सभामा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल) र नेपाल क्रिकेटबारे दश मिनेट लामो प्रस्तुती दिएका छन्।
नेपाली टोलीका पूर्वकप्तान पारसले गत वर्ष भएको पहिलो संस्करणको एनपिएललाई अभूतपूर्व सफलता भएको बताएका छन्।
उनले एनपिएलको प्रभावले देशभित्र एकताको भवना सिर्जना गरेको बताए। उनले पूर्वदेखि पश्चिमसम्मका आठ टोलीको प्रतिस्पर्धाले विश्व क्रिकेटको ध्यान खिँचेको पनि बताए।
गत वर्ष भएको लिगमा भारतका शिखर धवन र विश्वभरका फ्रेन्चाइज क्रिकेट खेलेका न्युजिल्यान्डका जिमी नीशम जस्ता स्टार खेलाडी सहभागी भएक थिए। यस्तै वेस्ट इन्डिजका लिजेन्ड ब्रायन लाराको पनि एनपिएल हेर्न उपस्थित भएका थिए।
एनपिएलबाट धेरै पैसा उठाउन सफल भएको पनि पारसको भनाइ छ। उनले एपिएलबाट आइसिसीको अनुदानभन्दा बढी पैसा उठेको बताए। यसले नेपाली क्रिकेटको आर्थिक पक्षलाई बलियो बनाएको बताए।
नेपाली क्रिकेटको भविष्यका लागि एनपिएलले ठूलो सम्भावना देखाएको उनको भनाइ छ। एपिएलको सफलतापछि सरकारले खेलकुद र विशेष गरी क्रिकेटका लागि बजेट दोब्बर बनाएको छ उनको भनाइ। यस्तै करिब ६० मिलियन डलर क्रिकेटको विकास र स्टेडियम निर्माणका लागि विनियोजन गरिएको छ।
पारसले आफूले नेपालको क्रिकेट यात्रामा दुई दशक बिताएको स्मरण गरे। उनले डिभिजन ५ देखि एकदिवसीय मन्यता देश बन्नसम्म नेपालको कप्तानी गरेका थिए।
उनले नेपाल क्रिकेटले अब टेस्ट खेल्ने देश बन्ने लक्ष्य राखेको बताए। यो लक्ष्य प्राप्तिका नेपाली घरेलु संरचनामा त्यस्तै खालका प्रतियोगिता आयोजना थालेको उनले बतए। गत वर्षको एकदिवसीय प्रतियोगिताका शीर्ष चार टोलीले जय ट्रफी बहुदिवसीय क्रिकेट खेलेको कुरा उनले साधारण सभामा राखे।