दक्षिण अफ्रिकाका अलराउन्डर वियान मुल्डरले वेस्ट इन्डिजका कीर्तिमानी क्रिकेटर ब्रायन लाराले उनलाई टेस्ट क्रिकेटको सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमान तोड्ने प्रयास गर्नुपर्थ्यो’ बताएको खुलासा गरेका छन्। उनले खुलासा गरेको विषयमा सुपरस्पोर्ट्सले लाराको भनाइ समेत उधृत गरेको छ।
बुलावायोमा जिम्बाब्वेविरुद्धको दोस्रो टेस्टको क्रममा मुल्डरले नटआउट ३६७ रन बनाएपछि इनिङ्ग्स समाप्तीको घोषणा गरेका थिए। उनी त्यतिबेला लाराको नटआउट ४०० रनको कीर्तिमान तोड्न सक्ने स्थितिमा समेत थिए।
खेलमा दक्षिण अफ्रिकाका कप्तान रहेका मुल्डर दोस्रो दिनको लन्चसम्म ३६७ रन बनाएर ब्याटिङ गरिरहेका थिए। तर उनले आफू ४ सय रनको नजिकहुँदा इनिङग्स घोषणा गरेका थिए। उनी सन् २००४ मा एन्टिगुवामा इंग्ल्यान्डविरुद्ध लाराले बनाएको ४०० रनको अविजित कीर्तिमानभन्दा ३३ रनले पछि परेका थिए।
इनिङ्ग्स घोषणा गरेपछि मुल्डरले भनेका थिए, ‘त्यो कीर्तिमान ब्रायन लारासँगै रहनु सबैभन्दा राम्रो कुरा हो।’
तर पछि लाराको विचार भने फरक रहेको मुल्डरले खुलासा गरेका हुन्। मुल्डरले सुपरस्पोर्ट्सलाई भने, ‘अहिले परिस्थिति अलि सामान्य भएपछ मैले ब्रायन लारासँग थोरै कुरा गरेँ। उहाँले मलाई भन्नुभयो, 'तिमी आफ्नै विरासत बनाइरहेका छौ र तिमीले त्यसको लागि प्रयास गर्नुपर्थ्यो'। उहाँले कीर्तिमानहरू तोड्नकै लागि बन्ने उहाँको भनाइ छ। यदि भविष्यमा फेरि त्यस्तो अवस्थामा पुगेँ भने उहाँको भन्दा बढी रन बनाओस् भन्ने उहाँको चाहना छ। उहाँको दृष्टिकोण रोचक थियो, तर म अझै पनि विश्वास गर्छु कि मैले सही काम गरेँ र मेरो लागि खेलको सम्मान गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो।’
मुल्डरको अविजित ३६७ रन दक्षिण अफ्रिकाका लागि सर्वाधिक व्यक्तिगत स्कोर हो भने समग्रमा पाँचौं उच्च स्कोर हो। दक्षिण अफ्रिकाका मुख्य प्रशिक्षक शुक्रि कोनराडले उनलाई भनेका थिए, ‘ठूला कीर्तिमानहरू दिग्गजहरूलाई नै राख्न देऊ।’
यो टेस्ट दक्षिण अफ्रिकाले तीन दिनभित्रै एक इनिङ्स र २३६ रनले जितेको थियो।
यो विषगमा क्रिस गेलले पनि बोलेका थिए। गेलले टक्सस्पोर्टसँग कुरा गर्दै भने कि मुल्डर ‘सायद आत्तिए’ र ‘जीवनमा एक पटक आउने मौका’ गुमाएर ‘गल्ती’ गरे भनेर भनेका थिए
गेलले भने, ‘यदि मैले ४०० रन बनाउने मौका पाएको भए, म ४०० रन बनाउँथे। यस्तो मौका बारम्बार आउँदैन। तपाईं फेरि कहिले तेहेरो शतक बनाउनुहुन्छ भन्ने तपाईंलाई थाहा हुँदैन। यदि तपाईं 'लिजेन्ड' बन्न चाहनुहुन्छ भने... कसरी बन्नुहुन्छ त? 'लिजेन्ड' बन्नका लागि कीर्तिमान बनाउनै पर्छ।’