इंग्ल्यान्डविरूद्ध बमिङघममा जारी दोस्रो टेस्टको पहिलो इनिङग्समा भारतीय कप्तान शुभमन गिलले २६९ रन बनाए। उनको दोहोरो शतकसँगै भारतले ५८७ रन जोड्यो।
टेस्ट क्रिकेटमा कुनै पनि भारतीय कप्तानले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर हो। यससँगै सन् २०१९ मा पुनेमा दक्षिण अफ्रिकाविरुद्ध विराट कोहलीले बनाएको अविजित २५४ रनको कीर्तिमान तोडियो।
गिलको २६९ रन एसिया बाहिर टेस्टमा कुनै पनि भारतीय ब्याटरले बनाएको सबैभन्दा उच्च स्कोर पनि हो। यसअघि यो कीर्तिमान सचिन तेन्दुलकरको नाममा थियो। सचिनले सन् २००४ मा सिड्नी क्रिकेट ग्राउन्डमा अविजित २४१ रन बनाएका थिए।
विदेशमा भएको टेस्टमा भारतीय ब्याटरले बनाएको तेस्रो ठूलो स्कोर हो। यसभन्दा अघि सन् २००४ मा पाकिस्तान भ्रमणमा वीरेन्द्र सेहवागले मुल्तानमा ३०९ रन र राहुल द्रविडले रावलपिंडीमा २७० रन बनाएका थिए।
गिलभन्दा पहिले इंग्ल्यान्डमा भएको टेस्ट क्रिकेटमा केवल दुई भारतीयले मात्र दोहोरो शतक बनाएका थिए। सन् १९७९ मा सुनील गावस्करले २२१ रन र सन् २००२ मा राहुल द्रविडले २१७ रन जोडेका थिए। दुवै ब्याटरले शतक ओभलमा बनाएक थिए।
समग्रमा गिलको २६९ रन भारतका लागि टेस्ट क्रिकेटमा सातौं सर्वाधिक व्यक्तिगत स्कोर हो।
गिलभन्दा पहिले बमिङघममा टेस्टमा दोहोरो शतक बनाउने विदेशी ब्याटरको संख्या दुई थियो। सन् २००३ मा ग्राम स्मिथले २७७ रन र सन् १९७१ मा जहीर अब्बासले २७४ रन बनाएका थिए। गिलको २६९ रन इंग्ल्यान्डमा विदेशी ब्याटरले बनाएको आठौं सर्वाधिक स्कोर हो।
कप्तानको रूपमा आफ्नो पहिलो दुई टेस्टमै शतक बनाउने ब्याटरको संख्या (गिलसहित) ७ छ। यसअघिका ६ मध्ये तीन जना भारतीय थिए। विजय हजारे, सुनील गावस्कर र विराट कोहली पनि आफ्नो दुई टेस्टमा शतक बनाएक थिए।
टेस्ट र एकदिवसीय दुवैमा दोहोरो शतक बनाउने ब्याटर पाँच जना पुगेका छन्। गिलसँगै सचिन तेन्दुलकर, वीरेन्द्र सेहवाग, रोहित शर्मा र क्रिस गेलले दुवै फर्म्याटमा दोहोरो शतक बनाएका छन्।