स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीचको टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल सुपर ओभरमा पराजित भएको छ। नेदरल्यान्ड्सविरूद्ध तीन पटक स्कोर बराबरी हुँदा तेस्रो पटक सुपर ओभर खेलेको नेपालले पराजय भोगेको हो।
पहिलो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेपालले १ विकेटको क्षतिमा १९ रन बनायो। सुपर ओभरमा नेपालका लागि पहिलो बलमा कप्तान रोहित पौडेलले एक रन बनाउँदा कुशल भुर्तेलले त्यसपछि चौका, छक्का, दुई रन, छक्का र अन्तिम बलमा आउट भए।
सुपर ओभरमा जवाफी ब्याटिङ गरेको नेदरल्यान्ड्सका माइकल लेभिटले करण केसीविरूद्ध पहिलो बलमा छक्का प्रहार गरे। दोस्रो बल डट भयो। तेस्रो बलमा लेभिटले लेग बाइबाट एक रन लिए। चौथो बलमा म्याक्स ओ'डाउडले दुई रन लिए। पाँचौ बलमा ओ'डाउडले छक्का प्रहार गरे। अन्तिम बलमा चौका हुँदा नेदरल्यान्ड्सले पनि १९ रन बनाउँदा पहिलो सुपर ओभरमा पनि स्कोर बराबरी भयो भने खेल दोस्रो सुपर ओभरमा पुग्यो।
दोस्रो ओभर ओभरमा नेदरल्यान्ड्सका स्कट इडवार्डले नेपालका ललित राजवंशीलाई पहिलो बलमै छक्का प्रहार गरे। दोस्रो बलमा एक रन लिए। तेस्रो बलमा ओ'डाउडले छक्का प्रहार गरे। त्यसपछि वाइड हुंँदा चौथो बलमा एक रन लिए। पाँचौ बलमा इडवार्डले दुई लिए भने अन्तिम बलमा भने उनी आउट हुँदा नेदरल्यान्ड्सले १७ रन जोड्यो।
दोस्रो सुपर ओभरमा नेपालका लागि कप्तान रोहित पौडेलले नेदरल्यान्ड्सका केल क्लेइनविरूद्ध पहिलो बलमा छक्का प्रहार गरे। दोस्रो बलमा एक रन लिए। तेस्रो बलमा दीपेन्द्रसिंह ऐरीले चौका प्रहार गरे। चौथो बल डट भयो। पाँचौ बल पनि डट भयो। अन्तिम बलमा दीपेन्द्रले छक्का प्रहार गर्दा खेलमा फेरि पनि स्कोर बराबरी भयो भने तेस्रो सुपर ओभरमा पुग्यो।
तेस्रो सुपर ओभरको पहिलो बलमा भने नेपालका रोहित पौडेल क्याच भए। दोस्रो र तेस्रो बलमा ज्याच लायनविरूद्ध डेब्यू खेलाडी रूपेश सिंहले कुनै रन लिन सकेनन्। चौथो बलमा उनी आउट हुन पुगे। जसका कारण नेपालले तेस्रो सुपर ओभरमा कुनै रन जोड्न सकेन। किनकी दुई विकेट गएपछि सुपर ओभरमा ब्याटिङ गर्न पाइदैन।
जवाफमा नेदरल्यान्ड्सले एक रनको लक्ष्य पहिलो बलमै माइकल लेभिटले सन्दीप लामिछानेलाई छक्का प्रहार गरेर पूरा गर्यो।
त्यसअघि नेदरल्यान्ड्सले पहिले ब्याटिङ गरेर १५२ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेपालले पनि १५२ रन नै जोड्दा स्कोर बराबरी भयो भने खेल सुपर ओभरमा पुग्यो।
नेपाललाई अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको थियो। जसमा सन्दीप लामिछानेले नेदरल्यान्ड्सका केल क्लेइनविरूद्ध पहिलो बलमा दुई रन र दोस्रो बलमा एक रन लिए।
तेस्रो बलमा नन्दन यादवले चौका प्रहार गरे। चौथो बलमा दुई रन लिए। पाँचौ बलमा पनि उनले दुई रन लिएपछि अन्तिम बलमा नेपाललाई जितका लागि पाँच रन चाहियो। अन्तिम बलमा नन्दनले चौका प्रहार गरेपछि खेलमा स्कोर बराबरी भएको थियो। नन्दनले चार बलमा नटआउट १२ रन र सन्दीपले नटआउट ४ रन जोड्दा नेपालले ८ विकेटको क्षतिमा १५२ रन बनायो।
त्यसअघि नेपालका लागि कप्तान रोहित पौडेलले १९औं ओभरको अन्तिम बलमा आउट हुनुअघि ४८ रन बनाए। उनले ३५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। ओपनर कुशल भुर्तेलले २३ बलमा ५ चौकाको मद्दतमा ३४ रन बनाए। रोहित र कुशलबीच तेस्रो विकेटका लागि ४१ रनको साझेदारी भयो।
ओपनिङमा आएका लोकेश बम शून्य रनमा आउट भए लगत्तै अनिल साह पनि १ रनमा पेभिलियन फर्के। दीपेन्द्रसिंह ऐरीले ३ रन बनाए भने डेब्यू खेलाडीद्वय किरणकुमार ठगुन्नाले १५ रन र रुपेश सिंहले १९ रनको योगदान गरे। करण केसी ५ बलमा ८ रन बनाएर आउट भए।
बलिङमा नेदरल्यान्ड्सका ड्यानियल डोरमले ३ र विक्रमजित सिंहले २ विकेट लिए।
स्कटल्यान्डको ग्लास्गोमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ७ विकेटको क्षतिमा १५२ रन बनायो।
उसका लागि तेजा निडामानुरुले ३५ रन बनाए। अन्तिम ओभरमा नन्दन यादवबाट बोल्ड हुनुअघि उनले ३७ बलमा १ छक्का प्रहार गरे।
मध्य ओभरमा नेपालले नेदरल्यान्ड्सको रनको गति रोके पनि अन्त्यतिर सकिब जुल्फिकरले ११ बलमा १ चौका र २ छक्काको मद्दतमा नटआउट २५ रन बनाए।
त्यसअघि ओपनर माइकल लेभिटलाई सन्दीप लामिछानेले २० रनमा बोल्ड गर्दा उनका ओपनिङ पार्टनर म्याक्स ओ'डाउडलाई ललित राजवंशीले करण केसीको हातबाट १९ रनमा क्याच गराए।
विक्रमजित सिंह ३० रनमा नन्दन यादवको बलिङमा लोकेश बमको हातबाट समातिए। सन्दीपले कप्तान स्कट इडवार्डलाई १ रन र नाओ क्रोइसलाई ११ रनमा आउट गर्न सफल भए।
बलिङमा सन्दीपले चार ओभरमा १८ रन खर्चिदा ३ विकेट लिए। नन्दन यादवले २ विकेट लिए भने ललित र कुशल भुर्तेलको नाममा १-१ विकेट रह्यो।
खेलमा ब्याटर किरणकुमार ठगुन्ना र अलराउन्डर रुपेश सिंहले टी-२० खेलमा डेब्यू गरे। दुवैले टी-२० टोलीमा स्थान बनाए लगत्तै प्लेइङ-११ मा पनि स्थान पाएका हुन्। यस्तै टी-२० टोलीकै लागि परेका लोकेश बम पनि नेदरल्यान्ड्सविरूद्ध मैदान उत्रिए।
नेपाली टोली – कुशल भुर्तेल, लोकेश बम, अनिल साह (विकेटकिपर), रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, किरणकुमार ठगुन्ना, रुपेश सिंह, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी
नेपाल र नेदरल्यान्ड्सबीच टी-२० अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म १३ खेलमा प्रतिस्पर्धा भइसकेको छ। जसमा नेपालले ५ खेल जित्दा ७ खेलमा नेदरल्यान्ड्स विजयी भएको छ। एक खेलमा नजिता आएको छैन।
पछिल्लो पटक नेपाल र नेदरल्यान्ड्सबीच गत वर्षको टी-२० विश्वकपमा प्रतिस्पर्धा भएको थियो। अमेरिकाको डलासमा भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले पराजित गरषेको थियो।
यो सिरिज आइसिसी विश्वकप २०२६ को छनोटका लागि तयारीको रुपमा नेपालले लिएको छ। एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटका लागि यसअघि नै तयारी थालेको थियो। यसअघि नेपालले गत चैतमा हङकङमा भएको चारदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो।
जुलाईमा नेपाली टोलीले टी-२० विश्वकप छनोटकै तयारीका लागि भनेर श्रीलंका भ्रमण गर्ने कार्यक्रम सार्वजनिक भएको थियो। वर्षातको समय छल्न नेपाली टोली श्रीलंकामा गएर तयारी गर्ने क्यानको भनाइ छ।
त्यसपछि नेपाली टोली अस्ट्रेलिया पुग्नेछ। अस्ट्रेलियामा अगस्टमा नेपालले पाकिस्तान र बंगलादेशको ए टोलीसहित बिग ब्यासका खेलाडी सम्मिलित टोलीसँग अभ्यास खेल खेल्नेछ।
सेप्टेम्बरमा नेपाली टोली विश्वकपको तयारी गर्नका लागि युएई जानेछ। युएईमा नेपालले टेस्ट वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्नेछ।
त्यसपछि नेपालले अक्टोबरमा ओमानमा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ।
टी-२० विश्वकप २०२६ को एसिया र इस्ट एसिया प्यासिफिकको अन्तिम छनोट अक्टोबर १ देखि ओमानमा हुँदैछ। प्रतियोगितमा नेपालसहित नौ टोलीले भाग लिँदैछन्। भाग लिने टोलीमा नेपाल र ओमानसँगै जापान, कुवेत, मलेसिया, पपुवा न्युगिनी, कतार, सोमाओ र युएईले प्रतिस्पर्धा गर्दैछन्। नौमध्ये तीन टोली आगामी वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा छनोट हुनेछन्।
टी-२० विश्वकप २०२६ मा १२ टोली भने सिधा छनोट भइसकेका छन्। जसमा आयोजक भारत र श्रीलंकासहित अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, अमेरिका र वेस्ट इन्डिज छन्। आयोजकबाहेक अरू टोली टी-२० विश्वकप २०२४ को सुपर-८ मा पुगेका कारण छनोट भएका हुन्। वरीयताका आधारमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान छनोट भएका छन्।
बाँकी आठ टोली क्षेत्रीय छनोटबाट विश्वकपमा पुग्नेछन्। एसिया र इस्ट एसिया प्यासिफिबाट तीन टोली, युरोप र अफ्रिकाबाट दुई दुई टोली तथा अमेरिकन क्षेत्रबाट एक टोली विश्वकप २०२६ मा पुग्नेछन्।