आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सबीचको सिरिजमा नेपालले तेस्रो जित निकालेको छ।
मंगलबार स्कटल्यान्डको डन्डीमा भएको आफ्नो अन्तिम तथा चौथो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गर्यो।
नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा २२० रनमा अलआउट भयो।
नेपाललाई १० रन पेनाल्टी दिएपछि ब्याटिङ नै सुरु नगरी १० रन जोडेको नेदरल्यान्ड्सका लागि वेस्ली वारेसीले सबैभन्दा बढी ३६ रन जोडे।
नेपालको जितमा डेब्यू खेलाडी नन्दन यादवले ३ विकेट लिन सफल भए। तीव्र गतिका बलर नन्दनले ९ ओभरमा १ मेडन राख्दा ३९ रन मात्र खर्चिए। नन्दनले ४७ ओभरमा दुई विकेट लिए पनि नेपालको आसा बढेको थियो। सो ओभरमा नन्दनले भान मर्वीलाई १६ रन र केल केलिनलाई २५ रनमा आउट गरेपछि नेदरल्यान्ड्सको अन्तिम विकेट मात्र बचेको थियो। अन्तिम विकेटको रुपमा करण केसीले पल भानलाई अन्तिम ओभरको दोस्रो बलमा क्याच गराएपछि खेल नेपालको पक्षमा आयो।
नन्दनसँगै सन्दीप लामिछानेले पनि ३ विकेट लिए। उनले पनि १० ओभरमा ३९ रन दिए। ललित राजवंशीले १० ओभरमा १ मेडन राख्दा २९ रन मात्र खर्चिए भने २ विकेट लिन सफल भए। कुशल भुर्तेल र करण केसीको नाममा १-१ विकेट रह्यो।
स्कटल्यान्डको डन्डीमा टस जितेको नेदरल्यान्ड्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २३६ रन जोड्यो।
नेपालका लागि आरिफ शेखले अर्धशतक प्रहार गरे। आरिफले ८५ बलमा ७ चौका र २ छक्काको मद्दतमा ८४ रन जोडे।
त्यसअघि नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल १८ रन र अनिल साह २ रनमा आउट भए। सिरिजमा पहिलो अवसर पाएका अनिलले १६ बल खेल्दा निकै दबाब महसुस गरे।
सात ओभरमा दुई विकेट गुमाएको नेपालका लागि भीम सार्की र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे।
भीम सार्की ३८ बलमा ३ चौकाको मद्दतमा ३५ रन जोडेर आउट भए। रोहितले ६० बलमा ३५ रन जोड्न सके।
आजको खेलमा मौका पाएका अलराउन्डर बसिर अहमदले ११ रन जोड्न सके। करण केसीले पनि ११ रन मात्र बनाउन सके। नन्दन यादवले नटआउट १० रन बनाउँदा अन्तिम बलमा रनआउट भएका सन्दीप लामिछानेले २ रन बनाए।
बलिङमा नेदरल्यान्ड्स लागि पल भानले ४ विकेट लिन सफल भए। माइकल लेभिटले ३ विकेट हात पार्दा आर्यन दत्तले १ विकेट लिए ।
नेदरल्यान्ड्सले ब्याटिङ नै सुरु नगरी १० रन पाएको थियो। मध्यओभरमा बसिर अहमद निषेध गरिएको पीच क्षेत्रमा दौडिएको भन्दै नेपाललाई १० रन पेनाल्टी दिइएको हो।
पछिल्लो खेलमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको थियो।
त्यसअघि नेपालले स्कटल्यान्डलाई एक र नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो। यससँगै यो सिरिजमा नेपालले चार मध्ये तीन खेलमा जित निकाल्यो। नेपाल लिग-२ को अंक तालिकामा १६ खेलबाट १२ अंक जोड्दै सातौं स्थानमा छ।
सोमपाल र गुल्सन चोटग्रस्त
सिरिजका लागि स्कटल्यान्ड भ्रमणम रहेका नेपाली राष्ट्रिय टोलीका दुई खेलाडी चोटग्रस्त भएका छन्।
तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुल्सन झा प्रशिक्षण दौरान घाइते भएका हुन्।
सोमपालको दायाँ हात तथा गुल्सनको घुँडामा चोट लागेको हो। चिकित्सकको परामर्श पश्चात् दुवै खेलाडीले लिग-२ र यसपछि टी-२० सिरिजका सम्पूर्ण खेलमा गुमाउने भएका छन्।
दुई खेलाडी घाइते भएपछि नेपालले अन्तिम खेलमा तीन खेलाडी परिवर्तन गर्यो। खेलमा अनिल साह, बसिर अहमद र नन्दन यादवले मौका पाए। यससँगै नन्दनले एकदिवसीय राष्ट्रिय टोलीमा डेब्यू गरे। दुई महिनाअघि टी-२० मा डेब्यू गरेका नन्दनले सिरिजको चौथो खेलमा डेब्यूको अवसर पाएका हुन्।
उनलाई पूर्वकप्तान तथा हालका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले डेब्यू क्याप दिएका छन्।
विकेटकिपर एवं ओपनिङ ब्याटर आसिफ शेख, गुल्शन झा र सोमपाल कामी टोलीमा थिएनन्। गुल्सन र सोमपाल चोटले टोलीबाट बाहिरिएका हुन्।