आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज पुनः स्कटल्यान्डसँग खेल्दैछ।
स्कटल्यान्डमा जारी नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिजमा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो।
डन्डीमा नेपाली समयअनुसार खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ।
नेपालले स्कटल्यान्डविरुद्ध पहिलो खेलमा १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो।सिरिजमा नेपाल अपराजित छ।
स्कटल्यान्डलाई पराजित गरेपछि नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि नेपाल ५ विकेटले विजयी भएको थियो।
नेपालले सिरिजको अन्तिम खेल पुनः नेदरल्यान्ड्ससँग आगामी बिहीबार खेल्नेछ।लिग-२ को अङ्क तालिकामा नेपाल १० अङ्कसहित सातौँ स्थानमा छ।
नेपालले हालसम्म १४ खेल खेलेको छ। १६ खेल खेलेको युएई ६ अङ्कसहित पुछारमा छ।शीर्ष स्थानमा रहेको अमेरिकाले २० खेलबाट २८ अङ्क जोडेको छ।
दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले २२ खेलबाट २६ अङ्क जोडेको छ।
त्यस्तै, तेस्रो स्थानमा रहेको ओमानले २० खेलबाट २४ अङ्क, चौथो स्थानमा रहेको स्कटल्यान्डले १८ खेलबाट २२ अङ्क र पाँचौँ स्थानमा रहेको क्यानडाले २० खेलबाट २० अङ्क जोडेको छ।नेपालभन्दा एक स्थान माथि रहेको नामिबियाले २० खेलबाट १४ अङ्क जोडेको छ।
नेपाली टोली:
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, भीम सार्की, बशिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल।