रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षपछि आइपिएल जितेको खुसियालीमा भारतको बेंगलुरुमा भएको उत्सवले दुःखद मोड लिएको छ। खुसीयाली मनाउने क्रममा भागदौड हुँदा कम्तिमा सात जनाको मृत्यु भएको आशंका गरिएको छ।
कर्नाटक राज्य क्रिकेट संघ (केएससीए) ले आयोजना गरेको टोलीको सम्मान कार्यक्रमका लागि एम चिन्नास्वामी स्टेडियम नजिक भीड जम्मा भएपछि यो भागदौड सुरु भएको हो।
प्रहरीले घाइते र बेहोस मानिसहरूलाई नजिकैको अस्पतालमा लगेको दृश्य देखिएको छ। उत्सव हेर्न आएका धेरै मानिसहरू भागदौडका क्रममा बेहोस भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
स्टेडियम नजिकका केही बेंगलुरु मेट्रो स्टेशनमा पनि रेलबाट ओर्लिएर भर्याङतर्फ लागिरहेका मानिसहरूको ठूलो भीड देखिएको थियो।
उत्सवको एक झलक पाउन मानिसहरू रूख चढिरहेका र हाँगाहरूमा बसिरहेका देखिएका थिए। कर्नाटक सरकारले सुरक्षाको कारण देखाउँदै स्टेडियमसम्म हुने भनिएको विजय जुलुस रद्द गरेको थियो।
प्रहरीले मंगलबार रातिदेखि नै उत्सव मनाइरहेको भीडलाई नियन्त्रणमा लिइरहेको बताएको छ।
समाचार एजेन्सी आइएएनएसका अनुसार प्रहरी रातभर भीड व्यवस्थापन गर्न र कुनै अप्रिय घटना हुन नदिन लागिपरेको थियो।