स्कटल्यान्डको डन्डीमा भएको खेलमा अन्तिम ओभरमा रोमाञ्चक जित निकालेसँगै नेपाल आइसिसी क्रिकेट विश्वकप लिग २ को अंक तालिकामा पुछारबाट सातौं स्थानमा उक्लिएको छ। नेपालले युएईलाई पछि पार्ने क्रममा १३ खेलबाट ८ अंक जोडेको छ।
सोमबार स्कटल्यान्डमा सुरु भएको विश्वकप लिग २ त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपालले आयोजक टोली स्कटल्यान्डमाथि एक बल बाँकी छँदा एक विकेटको सनसनीपूर्ण जित दर्ता गरेको हो।
- नेपालले स्कटल्यान्डले दिएको २९७ रनको लक्ष्य पूरा गर्दै आफ्नो रेकर्ड सुधार गर्यो। यो नेपालले एकदिवसीय खेलमा पार गरेको अहिलेसम्मकै ठूलो लक्ष्य हो। यसअघि नेपालले पार गरेको ठूलो लक्ष्य क्यानडाले दिएको २८७ रन थियो। नेपालले बनाएको २९७ रन एकदिवसीय खेलको समग्रमा दोस्रो ठूलो स्कोर समेत हो। नेपालले एकदिवसीय खेलमा सर्वाधिक स्कोर बनाउने क्रममा सन् २०२३ मा कीर्तिपुरमा ३१० रन बनाएको थियो। यस्तै सन् २०२३ मै पिएनजीविरूद्ध पनि २९७ रन बाएको थियो।
- २९७ रनको लक्ष्य पार गरेसँगै नेपालको एकदिवसीय खेलको दुवै इनिङग्सको सर्वाधिक स्कोर समेत बन्यो। सोमबार दुवै इनिङग्समा गरी कुल ५९३ रन बन्यो। यसअघि नेपालले खेलेको दुवै इनिङग्सको कुल सर्वाधिक स्कोर ५८१ रन थियो। यो स्कोर नेपालले जिम्बावेसँग हरारेमा सन् २०२३ मा खेल्दा बनेको थियो।
- यस्तै नेपालले विकेटको आधारमा हात पारेको यो सबैभन्दा कम अन्तरको जित हो। नेपालले यसअघि एकदिवसीय खेलमा कहिल्यै पनि एक विकेटको जित हात पारेको थिएन।
सोमबार निकै रोमाञ्चक खेलको अन्तिम बलमा जितका लागि एक रन आवश्यक हुँदा स्कटिस स्पिनर मार्क वाटले फालेको बल लेग साइडमा वाइड भएपछि नेपाल एक विकेटले विजयी भएको हो। जितको खुसीमा खेल हर्न उपस्थित सयौं नेपाली समर्थकहरू मैदानमा प्रवेश गरेका थिए।
स्कटल्यान्डले टस हारेर पहिले ब्याटिङ गर्दा चार्ली टियरको ८० रन तथा फिनले म्याकक्रिथको ५५ रनको मद्दतले ५० ओभरमा २९६ रन बनाएको थियो।
ओपर कुशल भुर्तेलले ५५ रन बनाए पनि नेपाल ३९औं ओभरमा १९२/७ को कमजोर स्थितिमा पुगेको थियो। जसका कारण घरेलु टोलीले खेल लगभग आफ्नो पक्षमा पारिसकेको थियो।
तर, असम्भव जस्ता देखिने अवस्थामा बारम्बार नायक बन्दै आएका करण केसीले फेरि एकपटक नेपाललाई संकटबाट बाहिर निकाले। नवौं नम्बरमा ब्याटिङ गर्न आएका करणले ४१ बलमा चार छक्कासहित अविजित ६५ रनको महत्वपूर्ण पारी खेले।
करणले ४९औं ओभरमा १८ रन जोडेपछि नेपाललाई अन्तिम ओभरमा जितका लागि सात रन आवश्यक थियो। तर, नेपालले अन्तिम ओभरको पहिलो बलमा १०औं नम्बरका सन्दीप लामिछानेलाई गुमाउन पुग्यो।
त्यसपछि अन्तिम ब्याट्सम्यानका रुपमा रिजन ढकाल मैदान प्रवेश गरे। उनले तेस्रो बलमा करणलाई स्ट्राइक दिन सफल भएका थिए। त्यसपछिको दुई बलमा करणले दुई दुई रन लिँदा अन्तिम बलमा एक रन आवश्यक भएको थियो। तर मार्क वाटले वाइड फ्याँके।
यो जितले नेपाललाई लिग २ को तालिकाको पुछारबाट माथि पनि उकालेको छ। सिरिजमा बुधबार नेपालले डन्डी मैदानमै नेदरल्यान्ड्सको सामना गर्नेछ।