रूपन्देहीको भैरहवामा लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता सुरू भएको छ।
लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रूपन्देही क्रिकेट संघको समन्वयमा शुक्रबारदेखि लीला सेन्चुरी मेमोरियल यु–१६ क्रिकेट प्रतियोगिता सुरू भएको हो।
प्रतियोगिताको उद्घाटन खेलमा रूपन्देही जिल्ला विजयी भएको छ।
रूपन्देहीले समीर अलि मुसलमानको शतकीय पारीमा नवलपरासी जिल्लालाई २ सय ७१ रनको फराकिलो अन्तरले हराउँदै सानदार जित निकालेको हो।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको रूपन्देहीले निर्धारित ३५ ओभरको खेलमा ३३ ओभर ३ बलमा अलआउट हुँदै ३ सय १६ रनको उच्च योगफल बनायो। रूपन्देहीका लागि समीर अलि मुसलमानले ७० बलमा १७ चौका र एक छक्काको मद्दतमा १ सय १८ रनको शतकीय पारी खेले।
खेलमा सिद्धार्थ ढकालले ५५, आरिफ खानले ४३, रोजन कुमालले ३८, लक्ष्मण कुमालले अविजित १८ र सुजन रानाभाटले १४ रन बनाए। बलिङमा नवलपरासीका प्रेम सागर यादवले ४, विष्णु ठठेर र सागर पाण्डेले २–२ तथा आर्यन अलीले १ विकेट लिए।
जबाफी ब्याटिङ गरेको नवलपरासी १६ ओभरमा अलआउट हुँदै ४५ रनमै समेटियो। नवलपरासीका लागि प्रेम सागर यादवले १३ र आरोनजंग गिरीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बटुल्न सकेनन्। बलिङमा रुपन्देहीका लक्ष्मण कुमाल, प्रिन्स पाल र तुषार चौहानले समान २–२ तथा सोइब हसन मुसलमान र सुप्रिम कँडेलले १–१ विकेट लिए।
खेलमा रूपन्देहीका समीर अलि मुसलमान प्लेयर अफ द म्याच घोषित भए।
राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए।
रूपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका टिम सहभागी रहेको प्रतियोगितालाई भैरहवाका व्यवसायी किसन विकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका छन्। जेठ १६ गतेसम्म चल्ने प्रतियोगिता भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा चल्नेछ।