श्रीलंकाका अलराउन्डर तथा पूर्व कप्तान एन्जेलो म्याथ्यूजले टेस्ट क्रिकेटबाट संन्यास लिने शुक्रबार घोषणा गरेका छन्।
उनले आगामी जुनमा बंगलादेश विरुद्ध हुने पहिलोटेस्ट खेल आफ्नो अन्तिम टेस्ट म्याच हुने बताएर संन्यास लिने घोषणा गरेका हुन्। यो टेस्ट श्रीलंकाको गले अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ।
३७ वर्षीय म्याथ्यूजले १७ वर्ष लामो टेस्ट करियरमा ११८ खेल खेलेका छन्। यस क्रममा उनले ४४.६२ को औसतमा ८१६७ रन बनाएका छन्। उनको नाममा १६ शतक र ४५ अर्धशतक सामवेश छन्। उनी श्रीलंकाका लागि टेस्टमा सर्वाधिक रन बनाउने तेस्रो खेलाडी हुन्। सर्वाधिक रन बनाउने खेलाडीमा कुमार संगाकारा (१२४००) र महेला जयवर्धने (११८१४) छन्।
उनले टेस्टमा ३३ विकेट पनि लिएका छन्।
सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गर्दै म्याथ्यूजले टेस्ट क्रिकेट आफ्नो लागि ‘उच्च सम्मान र गौरव’ भएको बताएका छन्।
म्याथ्यूजले वनडे र टी-२०मा भने देशलाई आवश्यकता परेमा छनोटका लागि उपलब्ध रहने बताएका छन्।
उनी एक वर्षभन्दा बढी समयदेखि टी-२० र एकदिवसीयटोलीमा परेका छैनन्, यद्यपि उनले २०२६ को टी-२० विश्वकप खेल्ने सोच बनाएका छन्। जुन विश्वकप भारत र श्रीलंकामा आयोजना हुँदैछ।
उनले श्रीलंकालाई ३४ टेस्टमा कप्तानी गरेका छन् र १३ जित दिलाएका छन्। उनी श्रीलंकाका तेस्रो सर्वाधिक सफल टेस्ट कप्तान हुन्।