नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी-२० अभ्यास खेलमा जित निकालेको छ। बेलायत भ्रमणमा रहेको नेपाली टोलीले बिहीबार भएको टी-२० अभ्यास खेलमा ग्लोसेस्टरशायरलाई ७३ रनले पराजित गरेको हो।
नेपालले दिएको १९५ रनको लक्ष्य पछ्याएको ग्लोसेस्टरशायरले १७.३ ओभरमा १२१ रनमै अलआउट भयो।
उसका लागि मात्राभर्सले सवैभन्दा बढी ३७ रन जोडे। बलिङमा नेपालका सन्दीप लामिछानले, नन्दन यादव र बसिर अहमदले २-२ विकेट लिन सफल भए।
टस जितेको ग्लोसेस्टरशायरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १९४ रन बनायो। नेपालका लागि कुशल भुर्तेलले ४६ रन बनाउने क्रममा ३० बलमा ६ चौका र २ छक्का प्रहार गर्न सफल भए।
रोहित पौडेलले ३५ रन बनाउँदा दिपेन्द्रसिंह ऐरीले ३२ र अनिल साहले २९ रन बनाउन सफल भए। नेपालले अहिले यहि टोलीसँग अर्को खेल खेलिरहेको छ।
यसअघि नेपालले कार्डिफको न्यु पोर्ट क्रिकेट क्लब र एमसिसीविरूद्ध जित निकालेको थियो
नेपालको इंग्ल्यान्डमा अभ्यासका क्रममा स्थानीय क्रिकेट क्लब र एमसिसीसँग अभ्यास खेलसँगै ट्रेनिङ क्याम्पमा समेत हुनेछ।
त्यसपछि स्कटल्यान्ड जाने नेपालले त्यहाँ स्कटल्यान्ड ए टोलीसँग दुई वटा अभ्यास खेल्नेछ।
नेपालले लिग-२ अघि कुल ६ वटा अभ्यास खेल खेल्ने कार्यक्रम छ।
लिग-२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी-२० सिरिज पनि खेल्नेछ।
लिग-२ को खेल जेठ १९ देखि हुनेछ भने टी-२० सिरिज असार २ देखि सुरु हुनेछ।