आइसिसी विश्वकप लिग-२ को तयारीका लागि इंग्ल्यान्डमा रहेको नेपालले दोस्रो अभ्यासमा खेलमा त्यहाँको चर्चित क्लब एमसिसी-११ विरूद्ध खेलिरहेको छ।
इंग्ल्यान्डको हियरफोर्ड पहिले ब्याटिङ गरेको नेपालका लागि भीम सार्की र दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका हुन्।
भीम र दीपेन्द्रको शतकमा नेपालले ४५ ओभरमा ४ विकेट गुमाएर ३३५ रन बनायो।
दीपेन्द्रले ६७ बलमा १२ चौका र ४ छक्काको मद्दतमा ११० रन बनाए। भीमले ९० बलमा १० चौका र २ छक्का प्रहार गर्दा १०४ रन बनाए। दुवै ब्याटर रिटायर्ड हट हुँदै बसिर अहमद र करण केसीलाई ब्याटिङमा पालो दिएका थिए।
बसिरले २२ बलमा नटआउट ३८ रन र करणले ८ बलमा नटआउट १६ रन बनाए।
तर ओपनरद्वय कुशल भुर्तेल ६ रन र आसिफ शेख ७ रनमा आउट भए। अनिल साहले २७ रन जोड्दा रोहित पौडेलले २ रन मात्र बनाउन सकेका थिए।
बलिङमा एमसिसीका गार्लिकले २ विकेट लिए।
यसअघि पहिलो अभ्यास खेलमा नेपालले कार्डिफको न्यु पोर्ट क्रिकेट क्लबविरूद्धको३ विकेटको जित निकालेको थियो।
नेपालको इंग्ल्यान्डमा अभ्यासका क्रममा स्थानीय क्रिकेट क्लब र एमसिसीसँग अभ्यास खेलसँगै ट्रेनिङ क्याम्पमा समेत हुनेछ।
त्यसपछि स्कटल्यान्ड जाने नेपालले त्यहाँ स्कटल्यान्ड ए टोलीसँग दुई वटा अभ्यास खेल्नेछ।
नेपालले लिग-२ अघि कुल ६ वटा अभ्यास खेल खेल्ने कार्यक्रम छ।
लिग-२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी-२० सिरिज पनि खेल्नेछ।
लिग-२ को खेल जेठ १९ देखि हुनेछ भने टी-२० सिरिज असार २ देखि सुरु हुनेछ।