आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर-३ को खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपाल विश्व छनोटमा पुगेको छ।
सोमबार थाइल्यान्डमा भएको खेलमा नेपालले महत्वपूर्ण खेलमा जित निकालेपछि सुपर-३ को शीर्ष दुई स्थान पक्का गरेको हो।
यससँगै नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक विश्व छनोट खेल्न भएको हो।
विश्व छनोटमा पुगेपछि नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली टोलीप्रति सम्मान व्यक्त गरेका छन्।
‘क्रिकेट खेलेर के हुन्छ र?’ भन्ने मानसिकता राख्ने जमातबीच ती सबै चुनौतीहरू पार गर्दै हुर्किएर महिला क्रिकेटमा लाग्नु भएको बहिनीहरूप्रति सम्मान र कृतज्ञता,’ पारसले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालमा हाम्रा बहिनीहरूले क्रिकेट खेल्ने इच्छा राख्नु नै ठूलो कुरा हो, र अझै पनि ती सपनाहरू जीवित छन्।’
खड्काले समाजमा फैलिएका नकारात्मक धारणा र प्रतिक्रियाहरूलाई एकछिनको लागि बिर्सेर राष्ट्रको प्रतिनिधित्व गर्दै आफ्नो जीवन क्रिकेटप्रति समर्पित गर्नु सजिलो कुरा नभएको पनि बताएका छन्।
यसकारण नेपाली महिला क्रिकेट टिमलाई ठूलो समर्थनको रूपमा ‘हौसला’ प्रदान गरेको उनले बताए।
उनले अघि लेखेका छन्, ‘सामाजिक सञ्जालमा गाली गर्नु सजिलो छ, तर मैदानमा दौडिनु त्यति सजिलो छैन. नेपाली महिला क्रिकेट टिमको आजको जित कुनै आकस्मिक परिणाम होइन, यो त तपाईंहरूले ब्याट र बल समातेको पहिलो दिनदेखि नै सुनिश्चित भइसकेको भविष्य थियो।’
अब नेपालले यसै वर्ष विश्व छनोट खेल्नेछ। विश्व छनोटमा १० टोली भिड्नेछन्। १० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।