थाइल्यान्डमा भइरहेको आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले सुपर-३ मा स्थान पक्का गरेको छ।
समूह ‘सी’ अन्तर्गत हङकङ र बहराइनबीचको अन्तिम खेल वर्षाले रद्द भएसँगै नेपालले सुपर-३ मा स्थान पक्का गरेको हो।
समूहमा नेपाल शीर्ष स्थानमा रहेर सुपर-३ मा पुग्दा हङकङ र बहराइन भने बाहिरिए।
नेपालले चार खेलबाट पाँच अंक जोड्यो। पाँच अंक नै भएको हङकङ भने बाहिरियो।
नेपालले चार खेलमा दुई जित र एक खेलमा हार बेहोर्दा एक खेलमा अंक बाढ्यो।
हङकङले एक जित निकाल्यो भने तीन खेलमा अंक बाढ्यो। उसका तीन खेल वर्षाले अवरूद्ध भयो। रनरेटमा नेपालभन्दा अघि रहे पनि हङकङले एक मात्र जित निकाल्दा बाहिरियो।
नेपाल भने बढी जित निकालेको आधारमा हङकङलाई पछि पार्न सफल भयो। प्रतियोगिताको नियमावलीमा अंक बराबरीमा सुरुमा बढी जितलाई मान्यता दिइने उल्लेख छ।


अब नेपालले सुपर-३ मा युएई र घरेलु टोली थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। शीर्ष दुईमा पर्न सके नेपाल ग्लोबल छनोटमा पुग्नेछ।
यसअघि बिहीबार महत्वपूर्ण खेलमा नेपालले बहराइनमाथि डिएसएल मेथडमा ६ विकेटको जित निकालेर सुपर-३ को आसा जीवित बनाएको थियो। दबाबपूर्ण अवस्थामा नेपालकी कप्तान इन्दू बर्माले ७ बलमा नटआउट २४ रन जोड्दा नेपालको जित सम्भव भएको थियो। उनले ४ चौका र १ छक्का प्रहार गरेकी थिइन्।
नेपाल र हङकङसँगको पहिलो खेल रद्द भएको थियो। नेपालले बहराइनविरुद्धको खेलमा ९ विकेटको जित निकालेको थियो। हङकङविरूद्धको दोस्रो खेलमा भने नेपाल पराजित भएको थियो।
एसियाबाट दुई टोली पुग्ने विश्वकप छनोटमा १० टोली भिड्नेछन्। १० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।