भारतीय क्रिकेट टोलीका स्टार ब्याट्म्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यास लिने निर्णय भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) लाई जानकारी गराएका छन्।
इंग्ल्यान्डविरुद्धको आगामी पाँच म्याचको टेस्ट सिरिजअघि उनले संन्यासबारे जानकारी दिएका हुन्। सिरिज जुन २० जुनदेखि सुरु हुँदैछ।
क्रिकइन्फोका अनुसार कोहलीले एक महिनादेखि बिसिसिआईसँग यो विषयमा छलफल गरिरहेका थिए। यद्यपी टोली व्यवस्थापन र छनोट समितिले उनको अनुभव इंग्ल्यान्ड सिरिजका लागि महत्वपूर्ण हुने भन्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ।
रोहित शर्माले हालै टेस्ट क्रिकेटबाट संन्यास लिएका छन् र रविचन्द्रन अश्विनले पनि अस्ट्रेलियाविरुद्धको सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट छोडेका छन्। रोहितले संन्यास लिएपछि भारतले इंग्ल्यान्ड सिरिजअघि नयाँ कप्तान घोषणा गर्नु पर्नेछ।
१४ वर्ष लामो टेस्ट करिअरमा उनले १२३ टेस्ट म्याच खेलेर ४६.८५ को औसतमा ९,२३० रन बनाएका छन्, जसमा ३० शतक समावेश छन्। उनले ६८ म्याचमा भारतको कप्तानी गरेका थिए।
पछिल्लो समय कोहलीको टेस्ट फर्म राम्रो छैन। २०२४-२५ को बार्डर-गावास्कर ट्रफीमा उनले पाँच टेस्टमा जम्मा १९० रन बनाए, जसमा पर्थमा एक शतक थियो। तर बाँकी चार म्याचमा उनले ८५ रन मात्र जोडे। न्यूजिल्यान्डविरुद्धको घरेलु सिरिजमा उनको प्रदर्शन निराशाजनक थियो।
कोहलीले अझै आफ्नो निर्णयबारे सार्वजनिक रूपमा भने केही बोलेका छैनन्। यदि कोहलीले संन्यास लिएमा इंग्ल्यान्ड सिरिजमा केएल राहुल, शुभमन गिल, यशस्वी जैसवाल र ऋषभ पन्त जस्ता युवा खेलाडीमा भारतले भर पर्न पर्नेछ।