इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ अन्तर्गत मंगलबार राति खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई रोमाञ्चक खेलमा ३ विकेटले पराजित गरेको छ। जितसँगै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
घरेलु मैदानमा वर्षाले प्रभावित खेलमा हारसँगै मुम्बईको लगातार ६ खेलको जितको यात्रा टुंगिएको छ। मुम्बई अंक तालिकामा चौथो स्थानमा छ।
टस हारेर पहिले ब्याटिङ मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनायो। जवाफी ब्याटिङमा गुजरातले १४ ओभरमा १३२/६ को अवस्थामा पुगेको थियो, तर वर्षाले खेल रोकियो।
पुन: सुरु भएपछि डिएसएलको आधरामा उसलाई १९ ओभरमा १४७ रन लक्ष्य दिइयो। जुन लक्ष्य गुजरातले अन्तिम बलमा पूरा गर्यो।
जितसँगै गुजरात टाइटन्सले ११ खेलमा ८ जित र ३ हारसहित १६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ।
यो हारले मुम्बई इन्डियन्स १२ खेलमा १४ अंकसहित चौथो स्थानमा छ। दोस्रो स्थानमा रोयल च्यालेन्जर्स बेंगलुरु (१६ अंक) र तेस्रो स्थानमा पञ्जाब किंग्स (१५ अंक) छन्।
दिल्ली क्यापिटल्स (१३ अंक) र कोलकाता नाइट राइडर्स (११ अंक) पनि प्लेअफको दौडमा छन्, तर चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद, र राजस्थान रोयल्स भने प्लेअफबाट बाहिरिसकेका छन्।