काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनमा दोस्रो संस्करणको ‘जयकुमारनाथ शाह मेमोरियल इन्टर स्कुल क्रिकेट प्रतियोगिता’ दोस्रो दिन अपी स्कुल र गेटवे एकेडेमीले जित निकालेका छन्।
गेटवेले समूह ‘जी’ को खेलमा विजडम इंग्लिस स्कुललाई १८४ रनको फराकिलो अन्तरले पराजित गर्यो।
तल्लो मुलपानी मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको गेटवेले मर्शिद एकबालको नटआउट ७१ रन र सविर अन्सारीको नटआउट ८९ रनको मद्दतमा २ विकेटको क्षतिमा २१८ रन बनायो।
२१९ रनको लक्ष्य पछ्याएको विजडम १२ ओभरमा ३४ रनमै अलआउट भयो। बलिङमा गेटवेका साइमन पन्त र सुलभ तिमल्सेनाले ३-३ विकेट लिए। खेलमा सविर अन्सारी प्लेयर अफ दि म्याच भए।
यता समूह ‘एफ’ को खेलमा अपी स्कुलले डिएभी स्कुलको बी टोलीलाई हरायो। पहिले ब्याटिङ गरेको अपीले ३ विकेटको क्षतिमा १२८ रन बनायो। जवाफी ब्याटिङ गरेको डिएभीको बी टोलीले वर्षाका कारण १५ ओभरमा झारिएको खेलमा ८ विकेटको क्षतिमा ७४ रन बनायो। हारसँगै डिएभीको बी टोली बाहिरियो।
तल्लो मुलपानीमा निर्धारित त्रियोग स्कुल र जेम्स स्कुलबीचको खेल भने वर्षाका कारण हुन सकेन।
त्रिवि मैदानमा डिएभी स्कुलको ए टोली र पिक प्वाइन्ट एकेडेमीबीचको खेल पनि वर्षाले रद्द भयो। पहिले ब्याटिङ गरेको डिएभीले ६ विकेटको क्षतिमा १९५ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको पिक प्वाइन्टले ४ ओभरमा ७ रन बनाउँदा ३ विकेट गुमाएको स्थितिमा खेल वर्षाले रद्द भयो।
२१ टोलीले भाग लिएको यो प्रतियोगितालाई वर्षको एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोट प्रतियोगिताका रूपमा समेत लिइएको छ। यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई काठमाडौं जिल्लाको टोलीमा स्थान दिँदै नेपालको राष्ट्रिय यू-१६ टोलीको छनोटका लागि अवसर दिइनेछ।