सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई १०१ रनमै अलआउट गरेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं तीन बल खेल्न बाँकी छदा अलआउट भयो।
काठमाडौंको ब्याटिङ कुनै पनि बेला पनि सम्हालिन सकेन। ओपनरद्वय माइकल लेभिट ८ रन र स्टेफन इस्किनाजी १७ रनमा आउट भए।
लेभिट तेस्रो ओभरमा जनकपुरका किशोर महतोको बलमा मोहमद मोहसिनबाट क्याच भए। इस्किनाजी सातौं ओभरमा ललितनारायण राजवंशीको एलबिडब्लूको धरापमा परे। अघिल्लो ओभरमा भीम सार्कीलाई चार रनमा मोहमद मोहसिनले आउट गरे।
मोहसिनबाट आउट भएका गेरार्ल्ड इरासमसले २० रन जोड्न सके। त्यसपछि सुमित महर्जन शून्य, रसिद खान ७ रन, डान डाउथवेट १ रन र प्रतिश श्रेष्ठ ६ रनमा आउट भए। अन्तिम ओभरको पहिलो बलमा शेर मल्लले काठमाडौंका कप्तान करण केसीलाई १९ रनमा आउट गरे। दुई बलपछि दिपेश कडेँल पनि क्याच भए।
बलिङमा जनकपुरका ललितले ३ विकेट लिए। जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका ललितले कुल ११ विकेट लिइसकेका छन्। यस्तै शेर मल्लले पनि ३ विकेट लिए भने मोहमद मोसिनले २ विकेट हात पारे।
यसअघि चार खेलमा जित निकालिसकेको जनकपुर आजको खेलमा जित निकाले प्लेअफमा पुग्नेछ। काठमाडौंलाई प्लेअफमा सम्भावना जीवित राख्न आजको जित महत्वपूर्ण छ।