सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्स लिग चरणबाट बाहिरिने पहिलो टोली बनेको छ। बुधबार काठमाडौं गुर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनी बाहिरिएको हो।
अन्तिम खेलअघि बाहिरिएको लुम्बिनीले ६ मध्ये ५ खेलमा हार ब्यहोर्यो। काठमाडौंले भने ४ मध्ये २ खेलमा जित निकालेको छ।
काठमाडौंले दिएको १०४ रनको लक्ष्य पछ्याए पनि लुम्बिनीले लगातार विकेट गुमाएको थियो। चार बल खेल्न बाँकी लुम्बिनी ८५ रनमा अलआउट भयो। लुम्बिनीकाओपनरद्वय आशुतोष घिरैया ४ रन र अर्जुन साउद ३ रनमा आउट भए। दुवैलाई काठमाडौंका दिपेश कँडेलले चौथो ओभरमा सिकार बनाए।
अर्को ओभरमा टिम मुर्सलाई गेरार्ल्ड इरासमस ६ रन बोल्ड गरे। कप्तान रोहिकुमार पौडैल दशौं ओभरमा दिपेशको एलबिडब्लूको धरापमा परेपछि लुम्बिनीमाथि काठमाडौंलेदबाब दियो।
एघारौं ओभरमा उन्मुक्त चन्द १९ बलमा १४ रन जोडेर पेभिलियन फर्किए। उनलाई करण केसीले शाहब आलमबाट बाउन्ड्रीमा क्याच गराए। १२औं ओभरमा लुम्बिनीले अर्को विकेट गुमायो। सादबिन जफरलाई इरासमसले एलबिडब्लू आउट गर्दा लुम्बिनीले ६ विकेट गुमाउँदा ४३ रन मात्र जोड्यो।
१३औं ओभरको अन्तिम बलमा विवेक यादव २ रनमा करण केसीबाट बोल्ड भएका थिए। त्यसपछि सन्दीप जोरा र सूर्य तामाङले लुम्बिनीको इनिङ्ग्स सम्हाल्न खोजे। लुम्बिनीलाई अन्तिम दुई ओभरमा २७ रन चाहिएको थियो। तर १९औं ओभरको चौथो बलमा सन्दीप जोरालाई २६ रनमा करण केसीले शाहब आलमबाट क्याच गराए। जोराले २९ बलमा २ चौका प्रहार गर्न सके। अन्तिम विकेटको रुपमा अभिसेष गौतम शून्यमा आउट भए। उनलाई रसिद खानले अन्तिम ओभरमा एलबिडब्लूको धरापमा पारे। सूर्य तामाङले नटआउट ११ रन जोडे।
बलिङमा काठमाडौंका कप्तान करणले ४ विकेट लिए। दिपेश कँडेलले ३ विकेट लिए भने इरासमसले २ विकेट हात पारे। दिपेशले ४ ओभरमा ६ रन मात्र खर्चिदा काठमाडौंलाई फाइदा भएको थियो।
टस जितेर ब्याटिङ गरेको काठमाडौंको इनिङग्स पनि कुनै पनि बेला सम्हालिन सकेन। काठमाडौं अन्तिम चार बल खेल्न बाँकी छदा १०३ रनमै अलआउट भयो।
काठमाडौंका ओपनर माइकल लेभिटलाई इनिङ्ग्सको तेस्रो बलमै लुम्बिनीका रेमन सिमन्ड्सले शून्यमा बोल्ड गरे।
पाँचौ ओभरमा अर्का ओपनर स्टेफन इकान्जी पनि १३ रन बनाएर खेलिरहदा आउट भए। उनलाई लुम्बिनीका अभिसेष गौतमले बोल्ड गरे।
छैटौं ओभरमा साद बिन जफरले दुई विकेट लिएपछि काठमाडौं दबाबमा आयो। जफरले गेरार्ल्ड इरासमसलाई १ रनमा सन्दीप जोराबाट क्याच गराउदा चार बलपछि सुमित महर्जनलाई ४ रनमा एलबिडब्लूको धरापमा पारे।
१३औं ओभरमा डान डाउनवैटलाई विवेक यादवले कप्तान रोहितकुमार पौडेलबाट २१ रनमा क्याच गराए। उनले २४ बलमा २ छक्का प्रहार गरे।
अर्को ओभरमा रसिद खान १ रनमा रोहितबाट रनआउट भए। १६औं ओभरमा काठमाडौंका कप्तान करण केसीलाई १ रनमा सूर्य तामाङले जोराबाट क्याच गराउँदा खेलमा लुम्बिनी हाबी भएको थियो।
१८औं ओभरको अन्तिम बलमा भीम सार्की ३१ रनमा आउट भए। उनलाई सान बिनको बलमा विकेटकिपर अर्जुन साउदले स्टमपिन गरे। भीमले ४० बलमा १ चौका प्रहार गर्न सके। यो ओभरको अन्तिम बलमा शाहब आमल ५ बलमा ८ रन जोडेर आउट भए।
अन्तिम ओभरको दोस्रो बलमा प्रतिक श्रेष्ठलाई २० रनमा सिमन्ड्सले बोल्ड गरे। प्रतिकले १४ बलमा २ छक्का प्रहार गरे।
बलिङमा लुम्बिनीका साद बिन जफरले ३ विकेट लिए। उनले ४ ओभरमा २१ रन दिए। सिमन्ड्स र अभिसेष गौतमले २-२ विकेट लिन सफल भए। सूर्य तामाङ र विवेक यादवले १-१ विकेट लिन सफल भए।
जारी प्रतियोगितामा लुम्बिनीले पाँच खेलमा खेल जित तथा काठमाडौंले चार खेलमा एक जित हात पारेका छन्।